इच्छाराज खोरमै ६० दिन रहन सक्ने,सम्पत्ति विदेश पुगेको आशंका « Jana Aastha News Online
Logo
१५ मंसिर २०७८, बुधबार
|  Wed Dec 1 2021

इच्छाराज खोरमै ६० दिन रहन सक्ने,सम्पत्ति विदेश पुगेको आशंका

प्रकाशित मिति :  ७ कार्तिक २०७८, आईतवार १४:००


सिभिल सहकारीका हजारौं निक्षेपकर्तालाई रुवाएर सिभिल बैंक,सिभिल होम्सलगायत एक दर्जनभन्दा बढी कम्पनीको अध्यक्ष भएका इच्छाराज तामाङ प्रहरी हिरासतमा बसेको आज ठ्याक्कै तीन साता भयो । यसबीच प्रहरीले दुई पटक म्याद थपेर ठगीमा अनुसन्धान गरेको छ ।

अब भने संगठित अपराधमा म्याद थपिएको छ । तामाङसहित एक दर्जनलाई प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी) ले कारबाही प्रक्रिया अघि बढाएको हो ।

उनीहरुलाई शुरुको दिनदेखि नै छुट्टाछुट्टै हिरासतमा राखिएको छ । तामाङलाई प्रहरी प्रभाग सोह्रखुट्टेमा राखिएको छ भने,केहीलाई महाराजगञ्ज र बाँकीलाई सीआईबीमा थुनिएको हो ।

संगठित अपराधको अनुसन्धानमा ६० दिनसम्म थुनामा राख्न सकिने ब्यवस्था छ । हालसम्म ११ सय उजुरीकर्ताले तामाङलगायतको समूहले ४ अर्ब ६६ करोड रुपैयाँ ठगेको निवेदन पेश गरेको प्रहरीले बताएको छ ।

सहकारीको निक्षेप दुरुपयोग गरेर सिभिल होम्सलगायतका व्यवसाय चलाउँदै आएका तामाङ र उनको समूहले गरेको आम्दानीका अधिकाँश हिस्सा अहिलेसम्म प्रहरीले फेला पार्न सकेको छैन ।

कतिपयले बेलायत बस्दै आएकी छोरीमार्फत् विदेश ओसारेको आशंका गरेका छन् । प्रहरीले त्यसमा पनि थप अनुसन्धान गरिरहेको छ । स्रोतले भन्यो, ‘जे होस् उनीहरुले गरेको आम्दानी चाहिँ अहिलेसम्म हराएको देखिन्छ ।’

हिरासतमा रहेका सबैको सम्पत्तिबारे अहिले सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागले समेत चासोका साथ खोजबिन गरिरहेको छ ।

तामाङलगायतकाले जनता ठगेर बिताउँदै आएको सम्पन्न जीवनशैलीका कारण पनि उनीहरुको सम्पत्ति,व्यवसाय र जोडिएका कानुन व्यवसायीहरुमाथि अनुसन्धान गर्नुपर्ने अवस्था उत्पन्न भएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !