​रित्तो ढुकुटी

अर्थमन्त्री डा. युवराज खतिवडाले अस्ति भर्खरै मुलुकको आर्थिक अवस्था खुलस्त पार्नुभयो । उहाँले भनेपछि थाहा भयो, ढुकटी त रित्तै रहेछ !
ढुकुटी रित्तो हुनुको यो श्रेयचाहिँ उहाँले पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवालाई दिनुभएको छ । शेरबहादुरले आफ्नो कार्यकालमा यति धेरै सत्कार्य गर्नुभएको रहेछ कि त्यसको फलस्वरूप अहिले देशको ढुकुटी नै रित्तो हुन पुगेको छ । मान्छे भन्ने गर्छन्, देउवाले कुनै कामै गरेनन् । उनीहरूका लागि जवाफ हो– रित्तो ढुकुटी । ढुकुटी रित्याउनु पनि एउटा कामै हो ।

देउवाले अरू केही नगरे पनि ढुकुटी रित्याउने काम त भएकै रहेछ नि ! यो ढुकुटी रित्याउन कम गाह्रो भा’थ्यो ? सबैभन्दा पहिले त ढुकुटीमा भएको जम्मै पैसा जथाभावी बाँड्नु प¥यो । जथाभावी त भन्ने मात्रै हो । वास्तवमा त्यो अत्यन्त मिलाएर बाँड्नुपर्छ । सबैभन्दा पहिले आफन्त । त्यसपछि ससुराली । अनि पार्टी कार्यकर्ता । कार्यकर्तामा पनि आफ्नो गुटको । त्यसपछि अर्को गुटको । यसरी मिलाउन कम गाह्रो हुन्छ ? तर, गाह्रै काम भए पनि त्यो फत्ते भयो । अत्यन्त कुशलतापूर्वक पूरा ढुकुटी रित्तियो । 

ढुकुटी यसरी रित्तिएकोले अब नयाँ आउने सरकारलाई अवसर मिलेको छ । अहिले प्रधानमन्त्री खड्ग ओलीको सरकार जो छ, त्यो पूरा काम गर्छु भनेर आएको हो । ढुकुटी रित्तो भएकाले त्यसलाई भर्ने काम यो सरकारलाई मिलेको छ । काम गर्ने सरकारलाई काम गर्ने मौका मिल्यो त नि ! यसको लागि पनि वर्तमान सरकारले देउवाजीलाई बधाई दिनै पर्छ । कि कसो ?

टिप्पणीहरू