​हराएका कर्मचारीहरू

पत्रपत्रिकामा मान्छे हराएको, कुकुर हराएको, पासपोर्ट हराएको वा पर्स हराएको समाचार र सूचना त पढिएकै हो । अहिलेचाहिँ कर्मचारी हराएको नयाँ समाचार आउन थालेको छ । नेपाल सरकारमा आबद्ध करिब हजार जना जति कर्मचारी हराइरहेका छन् । कहाँ गए, कता गए, कसरी हराए कसैलाई पत्तो छैन । 

खासगरी केन्द्रबाट सरुवाको चिठी लिएर गएका कर्मचारी त्यसरी हराएका हुन्छन् । केन्द्रबाट गइसकेको देखिन्छ । तर, पुग्नुपर्ने ठाउँमा आइसक्यो भन्ने देखिन्न । यसको अर्थ बीच बाटोमै कतै हराएको बुझियो । त्यो पनि एक÷दुई जना होइन । पूरा हजार जना । एकैचोटि हजार हजार जना कर्मचारी हराउनु सानो कुरा होइन । पहिले–पहिले भए माओवादीले अपहरण गर्ने सम्भावना हुन्थ्यो ।

अहिले त्यो सम्भावना पनि छैन । अहिले त माओवादीको ‘माओवाद’ नै अपहरणमा परिसक्यो । माओवादीले नभए कुनै आपराधिक समूहले पो अपहरण ग¥यो कि ? केही समय अघिदेखि विभिन्न डनविरुद्ध सरकारले अभियान चलाइरहेको छ । तिनै डनले पो सरकारलाई कायल पार्न सरकारी कर्मचारी अपहरण गरे कि ? कर्मचारी अपहरण गरी तिनीहरूका लागि फिरौती मागियो भने सरकारले के गर्ला ? यो त बडा चिन्ताको विषय पो भयो त गाँठे ! 

टिप्पणीहरू