अनटेस्ट सवारी चालकहरुको मृत्यु

अनटेस्ट सवारी चालकहरुको मृत्यु

आफैले चलाएको कार अनियन्त्रित भई दुर्घटना हुँदा छुट्टाछुट्टै स्थानमा दुई सवारी चालकले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउने कार चालक सुनसरी बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० बर्षीय कृष्णप्रसाद दाहाल हुन् । हिजो राती पौने ८ बजेतिर सो दुर्घटना भएको हो ।

उनले नम्बर प्लेट राख्न नभ्याएको अन टेस्ट कार चलाउँदा अनियन्त्रित भई बराहक्षेत्र नगरपालिका ३ बाङ्गेको भित्री सडक खण्डमा पल्टिएर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा घाइते भएका दाहाललाई तत्कालै स्थानीय अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

उनी कालाबञ्जरदेखि चक्रघट्टीतर्फ गइरहेका थिए । दुर्घटनाबारे थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी पोष्ट बाङ्गेले जनाएको छ ।

त्यसैगरी सुनसरीमै भएको अर्को सडक दुर्घटनामा एक स्कुटी चालक युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा झापा दमक नगरपालिका १ की २६ बर्षीया सासा लिम्बु रहेकी छन् ।

उनी सवार अन टेस्ट स्कुटी सुनसरी कोशी गाउँपालिका ८ भाण्टाबारी चोकमा आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनाबाट गम्भिर घाइते भएकी लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान सवा ३ बजे मृत्यु भएको हो ।

सो दुर्घटनामा स्कुटी पछाडि सवार रहेकी झापा बुद्दशान्ति गाउँपालिका १ की २७ बर्षीया रेनु गुरुङ भने सामान्य घाइते भएकी छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू