सिन्डिकेटको सडक

भक्तपुरतिर यातायात बन्द छ । यातायात व्यवसायी आफैंले यो बन्द गरेका हुन् । कारणचाहिँ अनौठो छ, यो रुटमा थपिन लागेको एउटा यातायात कम्पनीको गाडी बन्द गर्नुपर्छ रे ! होइन भने आफ्नो गाडी बन्द । मागै गजब छ (अर्काको गाडी बन्द गर्ने भए गर नभए हामी आफंै गाडी बन्द गर्छौं । वाह ! अर्काको गाडी बन्द गर्न आफ्नो गाडी बन्द !

उनीहरूले भोलि आएर यस्तो नभनुन्– फलाना मान्छेलाई पक्रने भए पक्र, नत्र हामी जेल जान्छौँ ! अथवा यस्तो पनि नभनुन्– फलाना मान्छेलाई मार्ने भए मार नभए हामी आत्महत्या गर्छौँ !

बाटो सरकारले बनाउने, अनि त्यहाँ गाडीचाहिँ सिन्डिकेटले भनेको मात्रै चलाउन पाइने । सिन्डिकेटलाई मन लागेको कम्पनी, सिन्डिकेटलाई मन लागेको गाडी, सिन्डिकेटलाई मन लागेको ड्राइभर, सिन्डिकेटलाई मन लागेको खलाँसी भएको गाडी मात्रै त्यहाँ चलाउन पाइने भएपछि यसले त बडा गम्भीर प्रश्न पो जन्माइदियो ( नेपालमा यतिबेला सरकारले सरकार चलाइरहेको छ कि सिन्डिकेटले सरकार चलाइरहेको छ ? अथवा यो बाटो जत्तिको स्वायत्त सरकार सिन्डिकेट हो ? अथवा यो सिन्डिकेटवालाहरूले त्यो बाटोको लालपुर्जा नै आफ्नो नाममा झिकिसक्या हो कि ? नभए सार्वजनिक सडकमा क–कसको गाडी चलाउने भनेर सिन्डिकेटलाई सोध्नुपर्ने किन ?

टिप्पणीहरू