​म्याडम मान्य अझै किन मौन ?

रमाइलो छ राजपामा । कोही माननीयलाई पार्टीकै नेता–कार्यकर्ताले नचिन्ने, कोही माननीय शपथ लिनै नआउने ! प्रतिनिधिसभाकी एक जना मान्य गायब । न त पार्टीको सम्पर्कमा, न संसद् सचिवालयकै । संसद् सचिवालयका कर्मचारी तिनको खोजी गर्दामा हैरान छन् ।

केन्द्रमा नरमाया ढकाललाई चिन्ने र तिनको सम्पर्क नम्बर राजेन्द्र महतोबाहेक अरूसँग नभएझैं हालत हो उनको पनि । व्यक्तिगत विवरणमा उल्लिखित ठेगाना पच्छ्याउँदै कर्मचारीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–४ स्थित घर त भेट्टाए तर मान्छे फेला नपरेर हत्तु । यसरी गायब बन्ने माननीय अरू कोही नभएर विना पन्त शर्मा हुन् । प्रदेश नम्बर ५ बाट राजपाले समानुपातिकमा एक सिट पाएको थियो । त्यसमा सर्वेन्द्रनाथ शुक्लाहरूको दबाबमा उनलाई समानुपातिकतर्फबाट सिफारिस गरियो । माननीय बनिन् । तर, दुई महिना बितिसक्दासमेत शपथ नै लिएकी छैनन् । बैठकमा उपस्थित पनि छैनन् । नाताले राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाका साला प्रेमराजकी श्रीमती हुन् । एनजिओको जागिरे । राजेन्द्र महतो, महन्थ ठाकुरलाई दुई नम्बर प्रदेश भए पुग्ने भएकै कारण प्रतिनिधिसभातर्फ पाएको एक सिट राजपाले गुमाउने खतरा बढेको एक नेताले सुनाए । संसद्को नवौं बैठक बस्दा पनि बिनाको उपस्थिति छैन ।

राजपाकै नेताहरू नरमाया ढकाललाई पनि धुइँपताल खोजिरहेछन् । राजेन्द्र महतोले दुई करोड नगद बुझेर स्याङ्जाली नरमायालाई सांसद बनाए । तर, पार्टीकी ती माननीयलाई नेता–कार्यकर्ता मात्र होइन, पार्टी कार्यालयकै कर्मचारीले समेत चिन्दैनन् । सांसद भएपछि फेसबुक र केही अनलाइनमा मोडेलिङ गर्दै गरेका फोटाहरू सार्वजनिक भए पनि उनलाई राजपा कार्यालयमा सशरीर कसैले अहिलेसम्म नदेखेको चर्चा छ । यी पात्र अरू कोही नभएर पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालकी बहिनी हुन् । प्रदीप यसअघि समाज कल्याणमन्त्री रहेका एकसिटे कुमार खड्काका पिए थिए । पछाडि पार्टीलाई कांग्रेसमा विलय गराए र खड्कालाई भनसुन गर्न लगाएर कांग्रेसी कोटामै त्यहाँको सदस्य सचिव पड्काए । स्रोतका अनुसार स्याङ्जाका लीलाधर र मनरूपा ढकालकी पुत्री प्रज्ञा अर्थात् नरमायाको पतिचाहिँ विष्णुहरि लामिछाने हुन् । उनको डिल्लीबजारमा फर्निचर पसल रहेको बुझिएको छ । त्यहाँ अर्काे लफडा छ । संसद् सुरु भइसक्यो, संसदीय दलको नेता छान्न नसक्दा महाभारत मच्चिएको छ । एमालेले केपी ओली, माओवादीले प्रचण्ड, कांग्रेसले देउवा, फोरमबाट उपेन्द्र यादव संसदीय दलको नेता चुनिएका छन् । तर, संसद्को पाँचौ ठूलो दल राष्ट्रिय जनता पार्टीले नेता चुन्न सकेको छैन ।

पूर्वसहमतिबमोजिम दलको नेतामा महेन्द्र रायले नै मुख मिठ्याउने, संख्याका आधारमा राजेन्द्र महतोले दाबी नछाड्ने र वरिष्ठताको आधार टेक्दै महन्थ ठाकुरले यो पद छाड्न नसक्दा लफडा छ । अहिलेसम्म राजपा संसदीय दलको बैठक बस्न सकेको छैन । राजेन्द्र महतो यो पद अरूलाई छाड्न चाहँदैनन् । राजपाकै अन्य अध्यक्षमण्डलका नेताको रुचाइमा महतो परिरहेका छैनन् । महन्थलाई संसदीय दलको नेता बनाउने चाहना व्यक्त गर्छन् । शरत्सिंह भण्डारीले समेत यसमा चाहना व्यक्त गर्न थालेका छन् । यही कारण हो, संसदीय दलको निर्वाचन हुन नसकेको । ६ वटा पार्टी मिलेर राजपा गठन हुँदा तत्कालीन तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई नेता बनाउने सहमति भएको थियो । राजपाले प्रतिनिधिसभामा ११ सिट जितेको हो त्यसमध्ये पाँच जना महतो समूहका छन् । यता ६ जना समानुपातिकमध्ये ३ जना महतो पक्षधर । संसद्मा कुल १७ सिट प्राप्त राजपामा महतो पक्षधर ८ सांसद । उनी अकंगणितीय हिसाबले आफू संसदीय दलको नेता बन्नुपर्ने दाबी गरिरहेका छन् । 

टिप्पणीहरू