​कहाँ छ वामपन्थीको दुईतिहाइ सरकार ?

‘राजनीतिक संक्रमण सकियो । प्रशासनिक संक्रमण बाँकी छ’, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले सार्वजनिक कार्यक्रममा यही वाक्य प्रयोग गरे । कुरा के हो भने स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भयो । तर, कर्मचारी व्यवस्थापन हुन सकेको छैन । 

त्यति मात्र होइन, कर्मचारीको सरुवा नभएको झण्डै दुई वर्ष हुन लागिसक्यो । कार्यालय प्रमुखहरू प्रहरी, सिडिओलगायतको एक/एक वर्षमा सरुवा हुन्थ्यो । शिक्षा अधिकारी कट्टु लगाएर विद्यालय गएको महिनौं भयो । न कर्मचारीलाई कारबाही गर्न सरकार बलियो थियो । न कर्मचारीले अस्थिर सरकारलाई टेरपुच्छर लगाएका थिए । वाम गठबन्धनको दुईतिहाइ बहुमतको सरकार बनेको महिनांै बितिसक्यो तैपनि कर्मचारी व्यवस्थापन र सरुवा नहुँदा कमाउ अड्डा फस्टाउन थालेका छन् । चुहावट, भ्रष्टाचार नियन्त्रण होइन, संस्थागत रूपमा फैलँदो छ । बिपी राजमार्गको काशिखण्ड भकुण्डे पुग्दा रुन मन लाग्छ । इन्द्रावती पुग्नुस् कुकुरहरूले सिनो लुछेजस्तै इन्द्रावती र सुनकोशी दोहन भइरहेको छ । दोलालघाटदेखि भुम्लु हुँदै काभ्रेको सिमानामा मात्रै सयभन्दा धेरै स्काभेटर खोलामा पौडी खेलेर हीरा उठाइरहेका छन् । प्रहरी प्रमुख, प्रजिअ, संघीय प्रहरी इकाइ सबै मुकदर्शक छन् । स्थानीय सरकारको खबरदारीलाई प्रशासनले टेरपुच्छर लगाउँदैन । 

१२ चक्के गाडीको रमिता छ । काभ्रे भञ्ज्याङसम्म जाने १२ चक्के भकुण्डेसम्म जान पाउँदैनन् । यता व्यवसायीको बस आन्दोलन सिन्डिकेटको पक्षमा छ । कर्मचारी कसैले कसैलाई टेर्ने छैनन् । जनप्रतिनिधिले समेत प्रशासनलाई हात लिएर काम गर्न सकेको अवस्था छैन । जिल्ला आउने अधिकांश कार्यालय प्रमुखहरू घर बनाउन सामान जम्मा गर्नेदेखि घडेरी खरिद गर्ने अभियानसम्म क्रियाशील छन् । सरकार भए÷नभएको अनुभूति नभएको स्थानीयको गुनासोसमेत सम्बोधन हुन सकेको छैन । जिल्लाबाट निर्वाचित गोकुल बास्कोटा राज्यमन्त्री भएका छन् । अपेक्षा धेरै छन् । खराब र भ्रष्टाचारको चाङ चुलिएको छ । मण्डन देउपुर नगरपालिकाको सिपाघाट क्षेत्रमा सिन्धुपाल्चोक जिल्लाका क्रसरको दादागिरी शुरु भएको छ । इन्द्रावती दोहनमा सिन्धुपाल्चोकका क्रसर व्यवसायीलाई प्रहरीले समेत संरक्षण दिएको छ । इन्द्रावती गाउँपालिकाले अनधिकृत रूपमा ५० वटाभन्दा धेरै स्काभेटर सञ्चालन गर्न अनुमति दिएको छ । जनप्रतिनिधि निर्वाचित भइसकेपछि सिन्धुपाल्चोक जिल्लाका जनप्रतिनिधिकै संरक्षणमा वातावरणीय प्रभावबिनै क्रसर उद्योग खोलामै स्थापना हुन थालेका छन् । प्रशासनको चरम लापरबाही र मिलेमतोमा इन्द्रावती दोहन हुँदा पनि रोक्न सकिएको छैन । काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकाका ६, ७, ८ र ९ वडाका स्थानीयलाई इन्द्रावतीको लिफ्टमार्फत खानेपानी वितरण गर्दै आएको छ । पटक पटक लिफ्टमा इन्द्रावतीले क्षति पु¥याए पछि मण्डनदेउपुर नगरपालिकाले त्यसको संरक्षणका लागि सिँचाइमार्फत २५ लाख र बाँकी रकम त्यहीँ रहेको इन्द्रावती क्रसरले व्यहोर्ने गरी लिफ्ट संरक्षण गर्न लागेपछि सिन्धुपाल्चोक जिल्लाबाट खटिएका प्रहरीले चाबीसमेत खोसेर लग्दा विवाद छताछुल्ल भएको हो । ‘काभ्रेको लुट्ने, सिन्धुपाल्चोकलाई २४ घण्टा चलाउन अनुमति दिने, कस्तो हो प्रहरी नियम ?’ प्रमुख टोकबहादुर वाइवाले भने । 

सिन्धुपाल्चोक जिल्लाको साविक भीमटार गाविस हालको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले वातावरणीय मूल्यांकन नगराई भटाभट काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा स्काभेटर चलाउन अनुमति दिएपछि विवाद चर्किएको छ । इन्द्रावती दोहनमा सिन्धुपाल्चोक जिल्लाबाट ५० वटा भन्दा धेरै स्काभेटर सञ्चालनमा छन् । ‘काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा पर्ने जमिनमा अवैधानिक रूपमा क्रसर सञ्चालन भइरहँदा पनि प्रशासन मौन छ’, नगर प्रमुख टोकबहादुर वाइवाले भने, ‘लिफ्ट जोगाउन, सीमांकन गर्न र वातावरणका नाममा उठाइएको सिन्धुपाल्चोक जिल्लामा रहेको ३ करोड ९ लाख रकम वैज्ञानिक हिसावले प्राप्त गर्नु पर्छ ।’ ‘बुबाको नाममा रहेको १३ रोपनी जमिन अहिले सिन्धुपाल्चोक जिल्लाले मेरो भनेर अतिक्रमण गरिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘सिन्धुपाल्चोकको दादागिरी रोक्न पनि तत्काल सीमांकन गरिनुपर्छ । सीमांकन नहुन्जेल उत्खनन रोकिनुपर्छ ।’ कार्यपालिका सदस्य गीता नेपालले राति ९ बजेदेखि बिहान ३ बजेसम्म इन्द्रावती दोहन भइरहेको बताइन् । 

०६७ साल साउनमा शुरु गरिएको सीमांकन सिन्धुपाल्चोककै कारण रोकिएको वडाध्यक्ष जितबहादुर तामाङले बताए । काभ्रे र सिन्धु जिल्लाको सीमांकन गर्न, क्रसर उद्योगलाई व्यवस्थित गर्न, वैकल्पिक सडकको व्यवस्थापन गर्न, उद्योग अनुसार रोजगार उपलब्ध गराउन, सडकमा जोखिम न्यूनीकरण गर्न ट्राफिक व्यवस्थापन गर्न, स्थानीयले माग गर्दै ११ दिन अवरोध पु¥याएको अध्यक्ष जितबहादुर लामाले बताए । काभ्रेपलाञ्चोक जिल्लामा २०३१ सालमा नापी भएको थियो भने ०३७ सालमा सिन्धुपाल्चोक जिल्लामा नापी भएको थियो ।

– मोतीराम तिमल्सिन

टिप्पणीहरू