पाकिस्तानी दूतावास घेर्न गएकाहरु प्रहरी नियन्त्रणमा

पाकिस्तानी दूतावास घेर्न गएकाहरु प्रहरी नियन्त्रणमा

काठमाडौंस्थित पाकिस्तानी दूतावास घेर्न गएकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सात दशकअघिको घटनालाई जोडेर दूतावास घेर्न गएकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवको नेतृत्वमा गएको बा.२ ख ८३७ नम्बरको बस र बसमा रहेका झण्डै ४१ जनाको टोलीलाई प्रहरीले नियन्त्रण लिएको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्ज पुर्याइएको छ ।

उनीहरुले पाकिस्तानमा २२ अक्टोबर १९४७ का दिन हिन्दु मन्दिर भत्काएको र हिन्दु धर्मावलम्बीहरुको हत्या गरेको भन्दै बिरोधमा दूतावास घेरेको बताएका छन् ।

त्यो बेलामा बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएसँगै भारतबाट पाकिस्तान छुट्टिने क्रममा उक्त घटना भएको हो । भारतमा अहिले पनि उक्त घटनालाई लिएर चर्को बिरोध हुने गर्छ । सोही सन्दर्भमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा अभियानले बिरोध कार्यक्रमको आयोजना गरेको भनिएको छ ।

टिप्पणीहरू