एमाले बैठकमा एकथरी चर्कने,अर्कोथरी नबोल्ने

१० बुँदे सम्झौतालाई लिएर अध्यक्ष केपी ओलीले दिएको पछिल्लो अभिव्यक्तिप्रति एमाले स्थायी कमिटी बैठकमा प्रश्न उठेको छ । ओलीले अस्ति पार्टीको एउटा कार्यक्रममा १० बुँदे सम्झौताको औचित्य सकिएको घोषणा गरेपछि रुष्ट भएका तत्कालीन माधव नेपाल समूहका नेताहरुले कुरा उठाएका हुन् ।

तेस्रो धार भनिएको उक्त समूहले ओलीको अभिव्यक्तिबारे बैठकमा औपचारिक छलफल गर्न माग गरेका थिए । उपमहासचिव घनश्याम भुसालले तथ्य बंग्याएर ओलीले १० बुँदेबारे भ्रमपूर्ण टिप्पणी गरेको आरोप लगाउनुभएको बैठकमा सहभागी एक नेताले बताए । ‘तपाईंले हिजो बोलेको कुरा गलत छ। तथ्य बंग्याउनु भयो,अध्यक्ष जत्तिको मान्छेले यस्तो झुटो बोल्ने हो ?’, भुसालले प्रश्न गर्नुभएको थियो ।

१० बुँदे सहमतिको पृष्ठभूमि केलाउँदै भुसालले माधव नेपालका लागि सहमति गरेको भन्ने ओलीको भनाइको खण्डनसमेत गर्नुभयो । ओलीले माधव नेपालले पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरिएको तर पार्टी विभाजन नरोकिएकाले सम्झौताको सान्दर्भिकता सकिएको दाबी गर्नुभएको थियो । भुसालले भने माधव नेपाल नआए पनि तपाईंहरु आउनुस्,कमिटीमा बसेर काम गर्नुस् भनेर ओलीले आफैँलाई कन्भिन्स गरेको सन्दर्भ स्मरण गराउनुभयो ।

अब कमिटीमा सहभागी भएर जाउँ । माधव नेपाल आउँदैनन् भन्या हैन ? अनि अहिले माधव नेपालका लागि गरेको सहमतिको औचित्य सकियो भन्ने मिल्छ ? त्यसैले तपाईंले तथ्य नै गलत दिनुभयो ।’

‘माधव नेपाल आउँदैनन् तपाईंहरु आउनुस्, कमिटीमा बसेर काम गर्नुस् म १० बुँदे मान्न तयार छु भनेको हो कि होइन?’ भुसालले प्रमाण पेश गर्दै सोध्नुभयो, ‘अरु तमाम प्रमाण छोड्दिनुस् । अन्तिम अवस्थामा तपाईंले घरमै बोलाएर के भन्नुभएको थियो ? १० बुँदे पार्टीले अन गरेकै छ । अब कमिटीमा सहभागी भएर जाउँ । माधव नेपाल आउँदैनन् भन्या हैन ? अनि अहिले माधव नेपालका लागि गरेको सहमतिको औचित्य सकियो भन्ने मिल्छ ? त्यसैले तपाईंले तथ्य नै गलत दिनुभयो ।’

भुसालले तथ्यसहित आफ्नो भनाइको खण्डन गरेपछि ओली भने चुपचाप रहनुभएको बैठक स्रोतको भनाइ छ । भुसालअघि बोल्नुभएका अर्का नेता रघुजी पन्तले पनि १० बुँदेलाई लिएर ओलीको अभिव्यक्तिको विरोध गर्नुभएको थियो । बैठकमा लामो बोल्नुभएका पन्तले ओलीमा गुटवादी मानसिकता हावी भएकाले १० बुँदेको अपव्याख्या गरेको दावी गर्नुभएको थियो । गुटको आँखाले हेरेर आफूहरुलाई पक्षपातपूर्ण व्यवहार गरेको उहाँको भनाइ थियो । अध्यक्षको हैसियतमा ओली निष्पक्ष हुनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै पन्तले सच्चिएर अघि बढ्न ओलीलाई सुझाव दिनुभएको बैठकमा सहभागी ती नेताले बताए ।

यद्यपि हिजोको बैठकमा १० बुँदेबारेको लफडाले औपचारिक प्रवेश भने पाएन । आज कमिटी वैठकमा औपचारिक छलफल हुने गरी टुंगिएको नेताहरुले बताएका छन् । बैठकअघि उपाध्यक्ष भीम र उपमहासचिव भुसालले सामाजिक सञ्जालबाटै ओलीलाई जवाफ फर्काउनु भएको थियो ।

हिजोको बैठकबारे बताउँदै स्रोतले भनेको छ, १० बुँदेबारे ओलीको अभिव्यक्तिको नेताहरुले प्रश्न उठाउनुभएको छ । तर, ओलीले खासै रेस्पोन्स गरेको देखिएन । कम बोलेरै महाधिवेशनसम्म हामीलाई झुक्याउने,नर्मलजस्तो देखिने तर,एकलौटी गर्ने रणनीति देखिन्छ । त्यसैले होला उहाँले खासै जवाफ दिनुभएन । हेरौँ आज के हुन्छ ।’

त्यसो त, तेस्रो धार भनिएको समूहमै ओलीसंगको सहकार्यलाई प्राथमिकता दिने कि संघर्षलाई भन्नेमा एकमत नरहेको बताइन्छ । बताइएअनुसार उपाध्यक्ष रावल र उपमहासचिव भुसालको प्राथमिकता संघर्ष, रुपान्तरण र सहकार्यमा छ भने सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट,अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु भने संघर्षभन्दा सहकार्यमा जोड दिइरहेका छन् ।

सचिव योगेश भट्टराई भने सहकार्य र संघर्ष दुबैलाई संगसंगै लैजानुपर्ने मझधारको लाइनमा रहेको बताइन्छ । ‘ओलीले धोका दिन्छन् भन्नेमा सुरेन्द्रहरु पनि छन् तर,संघर्ष गर्दा झन् बिग्रन्छ भन्ने लागेर होला खासै जोड दिएर लागेका छैनन्’,उक्त स्रोतले भन्यो ।

टिप्पणीहरू