ज्वाईंलाई छोरो बनाउँदाको जोखिम

झूठो विवरण पेस गरी पोखरा– १० को ठेगानामा नागरिकता लिएका मोरङका मिलन परियार र उनलाई सहयोग गर्नेहरुलाई कास्की प्रहरीले समातेको छ । परियार र साक्षी बसेका पोखरा– १० का सम्मरबहादुर श्रेष्ठ, मनवीर गुरुङ, तत्कालीन वडासचिव नवराज थापा र मिलनकी सासूआमा मनकुमारी परियारसहित आठ जना पक्राउ परेका हुन् । श्रेष्ठ अहिले वडासदस्य छन् भने गुरुङ पूर्ववडाध्यक्ष हुन् ।
मिलन परियारले सासू मनकुमारीको सहयोगमा नागरिकता बनाएका थिए । पति धनजित विदेशमा भएका बेला २०७० साल पुस १७ गते उनले झुठो विवरण तयार पारी ज्वाइँ मिलनलाई छोरा भनी नागरिकता निकाल्न सहयोग गरेकी हुन् । विदेशबाट फर्किएका धनजितले एक महिनाअघि मात्रै उक्त कीर्ते गरेको थाहा पाएका थिए । उनले जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएपछि पोल खुलेको हो । मिलन र मनकुमारीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेकोे छ । साक्षी बसेका सम्मरबहादुर, मनवीर र पूर्ववडासचिव नवराजसहित गोमा तामाङ थापा, धनमाया गुरुङ र निलम गुरुङ समातिएका छन् । यसरी झूठो बिवरण पेश गरी नागरिकता लिने वा दोहोरो नागरिकता लिनेलाई किर्ते कागजको ३ नं. बमोजिम जालसाजी गरेको ठहर्छ । उक्त महलबमोजिम ज्वाइँ मिलन परियार छोरा भएर नागरिकता लिएपछि अंशियारसमेत हुने हुँदा अर्काको हक खोस्ने कार्य हुन जान्छ ।

टिप्पणीहरू