नयाँ दिल्लीबाट चीन जाने हवाई भाडा साढे ६ लाख

नयाँ दिल्लीबाट चीन जाने हवाई भाडा साढे ६ लाख

कोरोना महामारीले विश्वमा हवाई यात्रा गर्न चाहनेलाई निकै अप्ठेरो पारेको छ । युरोप,अमेरिकाको रुटमा सामान्य रुपमा बढेको हवाई भाडा एसियाका विभिन्न रुटमा तेब्बरदेखि चार गुणासम्म उक्लेको छ । चीनको व्यापारिक शहर सांघाई र भारतको राजधानी नयाँ दिल्लीबीच आउजाउ गर्नुपर्यो भने उक्त उडानको भाडा देख्दैमा दिमाग चक्कराउँछ ।

कोरोना महामारी अघिसम्म विश्वमा हवाई उडान नसोचेको हिसाबले सस्तो थियो । अहिले त्यसको ठीक उल्टो भएको छ । नयाँ दिल्लीबाट चीनको सांघाई जानको लागि एकतर्फी हवाई टिकटको मूल्य ३४ देखि ३५ हजार चिनियाँ युआन पर्न थालेको छ ।

अहिले एक चिनियाँ युआनको विनिमयदर १९ रुपैयाँ हो । जसअनुसार औसतमा ६ लाख ५० हजारभन्दा बढी नेपाली रुपैयाँ पर्ने देखिन्छ । त्यो पनि सोझो उडान होइन । सांघाइबाट नयाँ दिल्ली जान कम्तिमा पनि तीन वटा ट्रन्जिट भएर जानुपर्ने हुन्छ ।

६ लाख रुपैयाँभन्दा बढी मूल्यको उक्त टिकट पनि भनेको मितिमा किन्न पाइने अवस्था देखिँदैन । सबैजसो उडान प्याक रहेकाले टिकट पाउनै मुश्किल भएको यात्रुहरुको अनुभव छ । अक्टोबर १० देखि २२ तारिखसम्म टिकटको मूल्य ३५ हजार चिनियाँ युआनसम्म देखाइएको छ ।

नेपालबाट यताउताको रुट भएर बल्लतल्ल २८ दिन क्वारेन्टाइन बस्नेगरी चीनसम्म जाने हो भने पनि त्यसैगरी ट्रान्जिट र क्वारिण्टिन मापदण्ड पूरा गर्दै जाँदा पहिलेकोभन्दा तेब्बर महँगो हुन थालेको ट्राभल एजेन्सीहरुको अनुभव छ । उनीहरु भन्छन्, ‘अन्तर्राष्ट्रिय उडान साह्रै महँगो भयो । सर्वसाधारणले सितिमिति विदेश जानसक्ने अवस्था देखिएन ।’

टिप्पणीहरू