“सादगी” सिईओको तलब दुई करोड,लाखौं बोनस छुट्टै

“सादगी” सिईओको तलब दुई करोड,लाखौं बोनस छुट्टै

नेपाली बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको मासिक तलब,भत्ता र सुविधा देश,काल र परिस्थिति अनुकूल नभएको चर्चा पुरानै हो । बैंकका सीईओले बुझ्ने तलब,भत्ता र सुविधा तथा उनीभन्दा मुन्तिरका कर्मचारीले पाउने आर्थिक सुविधामा आकाश जमिनको फरक रहेको विषयमा बेला बेला चर्चा हुने गरेको छ ।

तर,सानिमा बैंकका सीईओ तथा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भने यससम्बन्धमा भिन्दै कुरा छ । आफूलाई सादगी, सिष्टमेटिक र सतप्रतिशत मुलुकको सच्चा बैंकर ठान्ने सीईओले सार्वजनिक गरेर वा नगरेर कति सुविधा बुझ्छन् ? सबैको चासोको विषय हो । अरुलाई अर्ति र उपदेश दिन माहिर दाहाल सेटिङमा कसलाई कहाँ र कसरी प्रयोग गर्छन् भन्ने कुरो पनि बिस्तारै बाहिर आउन थालेको छ ।

सानिमा बैंकले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा उनले पौने दुई करोड रुपैयाँ तलब र सुविधावापत बुझेका छन् । उनले बुझेको रकम एक करोड ८४ लाख १५ हजार रुपैयाँ हो । यो भनेको मासिक १५ लाख ३५ हजार रुपैयाँ हुन आउँछ । यसमा उनले उक्त वर्ष बुझेको झण्डै ५० लाख रुपैयाँ बराबरको बोनस समावेश छैन । त्योसमेत जोड्दा दाहालले मासिक रुपमा गत वर्ष १९ लाख ५० हजार रुपैयाँ बुझेको देखिन आउँछ ।

त्योबाहेक बैंकले महँगो दुई वटा सवारी साधन,चालक,पेट्रोल, टेलिफोनलगायतका खर्चसमेत व्यहोरेको छ । अघिल्लो आर्थिक वर्ष उनले १ करोड ४६ लाख तलबवापत बुझेका थिए । जुन वर्ष मुलुकमा कोरोनाले सर्वत्र तहस नहस बनायो, त्यहि वर्ष भुवनजस्ता कथित सादगी सीईओले झण्डै ७५ लाख रुपैयाँ बढी तलब,भत्ता र सुविधा बुझ्नुलाई ‘पाखी ओढेर घिऊ खाने ढोंगी’ सँग दाँजिएको छ ।

उनले बढाएर लिएको तलबसँगै गत वर्ष बैंकर्स संघको अध्यक्षको नाताले केन्द्रीय बैंकसँग कोरोनाकालमा माग गरेको विशेष सुविधाको औचित्यको पुष्टि गर्नुपर्ने भएको छ । कोरोनाले बैंकिङ क्षेत्रमा असर पारेको भन्दै रोइलो गर्ने समूहको नेतृत्व दाहालले नै गरेका थिए । उनले लाज, घिन र शरम पचाउँदै बैंकहरु अप्ठेरोमा परेको धेरै ठाउँमा खुलमखुल्ला बताएका थिए । तर, अहिले लाजै नमानी नाफा बढेको नाममा पौने करोड रुपैयाँ थपेर तलब र भत्ता बुझेको विवरण आफ्नै बैंकको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

राष्ट्र बैंकको निर्देशनबमोजिम सीईओले बुझ्ने सबै सुविधा र रकम बैंकको वार्षिक प्रतिवेदनमा अनिवार्य रुपमा अंकमा लेख्नुपर्छ । तर, दाहालको हकमा प्रतिवेदनमा उनले बुझेको लाखौं रुपैयाँ बराबरको बोनस उल्लेख गरिएको छैन । बोनस रकमा यसअघिका प्रतिवेदनमा समेत उल्लेख छैन । कतिपय अन्य बैंकले पनि त्यसै गरेको सम्बन्धमा नेपाल राष्ट्र बैंकले हालसम्म सोधनी समेत नगर्नुले उनीहरुको मनोबल बढेको स्रोतको दाबी छ ।

यसैबीच दाहालले नेपाल राष्ट्र बैंकको वर्तमान नेतृत्वसँग घाँटी जोडेको पुरानो सन्दर्भ जनआस्थालाई प्राप्त भएको छ । हाल मध्यबानेश्वरमा रहेको केएफए कलेजको प्रारम्भिककाल एउटा बैंकिङ ट्रेनिङ इन्स्टिच्युट थियो । उक्त इन्स्टिच्युटले धेरै पछि मात्र कलेजको हैसियत पाएको हो । पहिले बैंकिङ तालिम इन्ष्टिच्युटको रुपमा केएफए चाहिँ यिनै दाहालले खोलेका हुन् ।

प्रारम्भमा अहिलेका गभर्नर, डेपुटीहरुलाई उनै दाहालले भरपुर तालिम कक्षा उपलब्ध गराएको स्रोतको दाबी छ । कतिपयले त्यतिबेला उक्त इन्ष्टिच्युट खोल्ने क्रममा दाहालसँगै केन्द्रीय बैंकको नेतृत्वमा रहेकाहरुको समेत लगानीको आशंका गरेका थिए ।

केएफए खोलेपछि लामो समयसम्म भुवन दाहालले तत्कालीन नबिल बैंकबाट वार्षिक बिदा लिएर दुई हप्तासम्म हिमाली क्षेत्रको ट्रेकिङमा जाँदा राष्ट्र बैंकका त्यतिबेलाका चार्टर्ड एकाउण्टेण्ट तथा निर्देशक महाप्रसाद अधिकारीलाई समेत सँगै लैजान्थे । त्यसरी सँगै घुम्न गएका कतिपय फोटाहरु दाहालले धेरै पछिसम्म सामाजिक सञ्जालमा पोष्टेका थिए ।

टिप्पणीहरू