विमानस्थलमा मनपरी,धेरै ठाउँ- मिलाएर खाऊँ

विमानस्थलमा मनपरी,धेरै ठाउँ- मिलाएर खाऊँ

मुलुकभरका विमानस्थलहरुको व्यवस्थापन र सञ्चालन गर्ने प्रमुख जिम्मेवारी पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका स्थान भाडामा चलखेल गरेको समाचार प्राप्त भएको छ । प्राधिकरणको आम्दानीका धेरैवटा स्रोतमध्ये विमानस्थलभित्रका स्थान भाडा पनि एक हो ।

यात्रुको धेरै चाप हुने स्थानहरु महँगो भाडामा लगाउनुपर्ने हुन्छ । तर,भाडा लगाए पनि मिलेमतोमा क्षेत्रफल बढी उपलब्ध गराउने र कार्यालयको आम्दानी थोरै देखाउने गरिएको रहस्य बाहिरिएको छ । टेण्डरमा भनिएको क्षेत्रफल र लोकेशन एकातिर,व्यवहारमा उपलब्ध गराइएको क्षेत्रफल र लोकेशन अर्कैतिर गराएर सम्बन्धित कर्मचारीले प्राधिकरणलाई चुस्दै आएको आरोप लागेको छ ।

काठमाडौं विमानस्थलतर्फ अन्तर्राष्ट्रिय टर्मिनलको आगमन कक्षमा लगाइएको भाडा त्यसैको गतिलो उदाहरण भएको स्रोतले दाबी गरेको छ । इस्टवेस्ट ट्राभल एण्ड टुर्सले इन्टरनेशनल टर्मिनलको आगमन कक्षमा यात्रुहरु लिन आउँदा आफन्तहरु प्रतिक्षा गर्ने ठूलो कक्षको उत्तरतर्फको कुनामा ९ दशमलव ४५ वर्गमिटर क्षेत्रमा टिकट काउण्टर सञ्चालन गर्न दिने टेण्डर पारेको थियो ।

सम्झौताबमोजिम सो ट्राभलले सम्झौता अवधिभर काउण्टर सञ्चालन पनि गरेको छ । अवधि समाप्त भएपछि पनि ट्राभलले विमानस्थलस्थित केही कर्मचारीसँगको मिलोमतोमा म्याद थप गरी काउण्टर सञ्चालन गर्न पाउँ भनी निवेदन दिएको हो ।

तर विमानस्थल कार्यालयको कर्पोरेट महाशाखाले सम्झौताको म्याद समाप्त भएपछि थप गर्न नियमानुसार नमिल्ने व्यहोरा पत्रमार्फत् नै जानकारी गराएको देखिन्छ ।

यस्तै माग १८ दशमलव ५ वर्गमिटर क्षेत्रमा काउण्टर सञ्चालन गरिरहेको हाइलाइट्स नेपालले पनि गरेको थियो । उसलाई समेत कर्पोरेट महाशाखाले सोहीबमोजिमको पत्र लेखेर म्याद थप गर्न नसक्ने जानकारी गरायो । उक्त समयमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको यात्रु आगमन मार्ग परिवर्तन गरियो ।

सम्झौताबमोजिम उपलब्ध गराइएका स्थानहरुबाट यात्रुहरु नै नआउने भएपछि र म्यादसमेत सकिएपछि दुई वटा कम्पनी सोझै बाहिरिनुपर्नेमा उल्टै अदालतका गलत काममा रमाउने न्यायकर्मीहरुको सल्लाहमा दुवै कम्पनीका सञ्चालक एकाएक मुद्दामा गएको बताइन्छ ।

त्यसपछि अदालतले समेत उनीहरुको मागबमोजिम काउण्टरलाई यथास्थितिमा राख्नु भन्ने अन्तरिम आदेश दिएको छ ।

उक्त आदेशको अर्थ पुरानै स्थानमा काउण्टर यथास्थितिमा राख्नु भन्ने हो । तर शुभलाभवाला कर्मचारीको मिलोमतोमा दुवै कम्पनीलाई विमानस्थलको मुख्य क्षेत्रमा काउण्टर सञ्चालन गर्न दिने निर्णय भएको छ ।

सम्झौताबमोजिम बाहिरको स्थानभन्दा भित्रतर्फ यात्रुहरुको अत्यधिक चाप रहने स्थानको भाउ महंगो हुने नियमावलीमा प्रष्ट लेखिएको छ । तर अहिले उनीहरुलाई निकै सस्तोमा उक्त महँगो स्थान उपलब्ध गराइएको छ ।

अदालतको आदेशको अपव्याख्या गर्दै दुई कम्पनीलाई महँगो स्थान प्रदान गर्न उठाइएको टिप्पणीमा समेत बहाल रकम (भाडा) उल्लेख नगरिएको स्रोतको दाबी छ । विमानस्थलभित्र हुने यस्ता अनेकौं अनियमिततामा कर्पोरेट महाशाखाका उपप्रबन्धक हेम दाहालको निर्णायक भूमिका रहेको कर्मचारीहरुले बताएका छन् ।

टिप्पणीहरू