राज्यले रारामा थापेको त्यो धराप

राज्यले रारामा थापेको त्यो धराप

– जीवन डाँगी

पहाडभित्र घुम्ती नै घुम्ती । त्यसैमाथि ठाडै उकालो । कतै सलप्पै ओरालो । साँघुरो कच्ची सडक । तर,पनि हजारौँ यात्रु असुरक्षित मार्ग हुँदै दैनिकजसो यात्रारत हुन्छन् । चालकको लापरवाही,क्षमताभन्दा बढी कोचाकोच मानिस र यात्रुकै असावधानीजस्ता मानवीय त्रुटिले ज्यान गुमाइरहेका छौँ । मुगुको दुर्घटना पनि एउटा दुःखद संयोग हो ।

जलमार्गको सम्भावना छैन । ताल्चा विमानस्थलको भरै नपरौँ । रेल मार्ग त झन् ‘सम्झिने,पानी छम्किने’ भनेजस्तै छ । यहाँको यात्राका लागि सडक यातायात एकमात्र माध्यम हो । तर भरपर्दो भने बिल्कुल छैन ।

जुम्ला,हुम्ला, कालिकोट,मुगु र डोल्पाको विकल्पहीन सडक यातायातको असुरक्षाबारे सबैलाई लगभग जानकारी नै छ । किनकि कर्णालीको सडक पहुँचको त्यति लामो इतिहास छैन । यी क्षेत्रमा सदरमुकामबाट टाढा–टाढा पर्ने गाउँमा बल्ल–तल्ल बाटो पुग्दैछ ।

नागरिकले बारम्बार ‘रोड बिग्रियो केही त गरौँ, मेयर–साप’ भन्दा कानमा राराको पानी हालेरै सुते । केही गर्न सकेनन् ।

सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । तर, एकैपटक नदेखिएको मात्र हो । दुर्घटनामा परी निर्दोष विद्यार्थीहरूले घरछेउमै पुगेर अकाल मृत्युवरण गरे । उनीहरू काठमाडौँ,नेपालगञ्ज र सुर्खेत पढ्ने विद्यार्थी हुन् । परिवारसँगै बसी दशैं मनाउन उनीहरु आ–आफ्ना घर फर्केका थिए ।

कोरोनाका कारण लामो बन्दाबन्दी हुँदा खासै गाडी चलेनन् । लगत्तै, वर्षाद शुरू भयो । लामो समयसम्म गाडी नचल्दा सडकमा पहिरोका पहाड छन् । बर्खा सकियो । दशैं लाग्यो । फाटफुट सवारी चल्न थालेका मात्रै के थिए– मुगु दुर्घटनाले मनै झसङ्ग पार्यो ।

सोच्यौँः हामीहरू नमरे पनि दशैंको आँगनमा कोही न कोही त मारिए नि ! उनीहरू मरेका होइनन् अर्थात् उनीहरूको मृत्यु भएको होइन । राज्यले नागरिकमाथि राराछेउमा थापेको धरापमा परेका हुन् । जहाँ हामीहरू पनि मर्न सक्थ्यौँ तर धन्न उम्कियौँ । भो,अब यहि हालतमा रारा पुग्ने रहर छैन ।

‘गाउँको विकास जति रारा दहमा भरिगो, ताँइबाट बाहिर ल्याउन्या सकिन्या नाई । क्या गरी होला विकास–निकास ?’

संयोगः मुगुका संघीय सांसद गोपाल बम जो– रारा तालको आँगनमा पर्यटकहरूलाई डाँफेमार्फत् स्वागत् गर्छन् । रारा तालको मुखैमा उनको होटल छ । प्रायः पर्यटक डाँफेमै बस्छन् । शुल्क जे–जस्तो भएपनि खाने–बस्ने सुविधा ठीकै छ । तर, तिनै सांसदको जन्मथलो र निर्वाचन क्षेत्रमा झन्–झन् दुःख बिर्साउने सडक छ । जहाँ अघिल्लो मंगलबार बस दुर्घटना भयो । त्यो गाउँ उनै बमको हो । स्थानीयले बताएअनुसार घर पनि त्यहीँ नजिकै छ ।

यो मार्गको सबैभन्दा डरलाग्दो र उधुम बिग्रेको सडक पनि सांसदकै घरछेउमा पर्दछ । यसको हिस्सेदार उनी मात्रै छैनन् । छायाँनाथ रारा नगर प्रमुख हरिजङ्ग शाही पनि दुर्घटना भएकै वडाका स्थानीय हुन् । तर, उनी पनि नागरिकले बारम्बार ‘रोड बिग्रियो केही त गरौँ, मेयर–साप’ भन्दा कानमा राराको पानी हालेरै सुते । केही गर्न सकेनन् । अन्ततः धरापमा पारेर मारिएका मृतकको परिवार र आफन्तसामु मुकदर्शक मात्रै बने ।

उनीहरू त हेलिकोप्टरमा उड्छन्, चिल्लो गाडीमा दौडिन्छन् । तर, त्यहाँका नागरिक र पर्यटकहरूको अवस्था भने एकपटक ज्यानमारा मार्गको यात्रा गरेपछि मात्रै पत्तो चल्छ ।

दशैंअघि सडक सफा गर्न स्थानीय युवाले गरेको आग्रहसमेत पटक्कै सुनेनन् । रारा भ्रमणका क्रममा पंक्तिकारले सांसद तथा मेयरको विकास गतिविधिबारे चासो राख्दा स्थानीय युवक आनन्द रावल सुनाउँथे,‘गाउँको विकास जति रारा दहमा भरिगो, ताँइबाट बाहिर ल्याउन्या सकिन्या नाई । क्या गरी होला विकास–निकास ?’

दशैंको मौका छोपी घर फर्किनै लागेका दर्जनौँ होनहार युवाले अकालमै ज्यान गुमाउँदा गाउँ शोकमा डुबेको छ । दशैंको उल्लास छाइसकेका बेला परिवार र आफन्तहरू भने शव बुझ्न जिल्ला अस्पताल पुगेका थिए । घाइतेहरूको स्वास्थ्यमा थप सुधार हुँदै गए पनि तनाव उत्तिकै छ ।

वर्षेनी सडक मर्मतका नाममा खन्याइने लाखौँ रकम कार्यकर्ताको ज्यानमा भेटिन्छ, रारा जाने बाटोमा होइन । यसै कारण पनि भन्न मन छ, यो राज्यले नै थापेको धराप हो ।

टिप्पणीहरू