गरिब, विपन्नको लागि नेपालकै सबैभन्दा उदाहरणीय अस्पताल : भरतपुर अस्पताल

गरिब, विपन्नको लागि नेपालकै सबैभन्दा उदाहरणीय अस्पताल : भरतपुर अस्पताल

भरतपुर अस्पताल–नामै काफी छ । चितवन जिल्ला र बागमती प्रदेशमा मात्र होइन सिंगो देशमै यसको छुट्टै पहिचान छ । यस्तै, डा. भोजराज अधिकारीको प्रसिद्धि पनि कम छैन । चितवनमा लोकप्रिय डाक्टरको रुपमा स्थापित उनी आफ्नो उपचार–कौशलताले धेरै जनाको मन, मुटुमा बस्न सफल बनेका छन् । भरतपुर अस्पतालमा विगत १५ वर्षदेखि कार्यरत डा. अधिकारी अहिले यस अस्पताल विकास समितिका अध्यक्ष हुन् । चितवनलगायत थुप्रै जिल्लाका बिरामीहरुलाई अहोरात्र सेवा दिइरहेको भरतपुर अस्पतालको विकास अवस्थाबारे अध्यक्ष अधिकारीसँग जनआस्थाकर्मी अजय गोर्खालीले गरेको कुराकानी ।

तपाईं भरतपुर अस्पतालको अध्यक्ष हुनुभएको कति भयो ? तपाईं अध्यक्ष भएदेखि अहिलेसम्म यस अस्पतालको विकास तथा स्तरोन्नतिका लागि के–के काम गर्नुभयो ?

– म यस अस्पतालको अध्यक्ष भएको डेढ वर्ष भयो । अध्यक्ष भएपछि अस्पतालमा मैले तीनवटा कुराहरुमा जोड दिएको छु । एउटा– अस्पतालको भौतिक संरचनालाई सुधार गर्ने । दोस्रो– सेवा सुधार गर्ने र तेस्रो–त्यसको आधारमा जनताको विश्वास जित्ने ।

भौतिक संरचना सुधार्नलाई गरेको काम हे¥यो भने नयाँ इमर्जेन्सी बनाउन सुरु गरेका छौं । भरतपुर अस्पतालमा २०२० सालमा बनेको इमर्जेन्सी थियो । अब नयाँ ५० बेडको अत्याधुनिक इमर्जेन्सी बन्दैछ । अर्का, सरुवा रोग अस्पताल बनाउँदैछौं, अस्पतालभित्रै सरुवा रोगको लागि ठूलो ब्लक बन्दैछ । त्यस्तै, हामीले ओपिडी, जनरल सर्भिसहरु व्यवस्थित होस् भनेर त्यसलाई छुट्टाछुट्टै अतिरिक्त सेवा लिनेहरु, प्रसूति, अपाङ्गता भएका, ज्येष्ठ नागरिकहरुलाई छुट्टाछुट्टै गरेर अनलाइन सिस्टमबाट पनि टिकट सिस्टम विकास गर्दैछौं ।

हाम्रो पाँच वर्षदेखि ‘सी’ ब्लक (डायग्नोस्टिक ब्लक) हस्तान्तरण भइसकेको छैन । त्यसको काम अहिले अन्तिम चरणमा जाँदैछ । पीसीआर ल्याब भरतपुर अस्पतालभित्रै सार्दैछौं । यी निर्माणका काम भए । अब सेवाको कुरा गर्दा हामीसँग कम्तीमा करिब ८ सय जतिको हाराहारीमा दैनिक बिरामी आउनुहुन्छ । उहाँहरुको भीड म्यानेजमेन्ट पहिलो प्राथमिकता छ । त्यसपछि सम्बन्धित विशेषज्ञको सेवा दिलाउने दोस्रो उद्देश्य छ । तेस्रो– अतिविशिष्टीकृत सर्भिस अस्पतालमा सुरु गराउनको लागि हामीले युरोजोली सेवा, मृगौलासम्बन्धी नेफ्रोलोजी सेवा, नसासम्बन्धी न्युरोलोजी सेवा, पेटको ग्याष्ट्रो सेवा बढाउँदै लाँदैछौं ।सेवामा बिमालाई बढी व्यवस्थित गर्दैछौं । विपन्न, गरीब बिरामीहरुको सेवाका लागि सामाजिक सुरक्षा इकाईलाई पहिलेभन्दा अझ विकसित गर्दैछौं । यी कुराहरु जनतामाझ, जसले सर्भिस पाउनुपर्ने हो, उनीहरुलाई सेवा दिएर हामीले विश्वास जत्ने अथवा जनतामा भरतपुर अस्पताल स्वास्थ्योपचारको लागि आस्थाको केन्द्र हो भन्ने बनाउने हाम्रो प्रयास छ ।

अब आफ्नो बाँकी कार्यकालमा यस अस्पतालको विकास–विस्तारमा यो–यो कामचाहिँ म गरेरै छाड्छु भन्ने त्यस्तो केही कार्ययोजना बनाउनुभएको छ कि छैन ?

– हामी छिटोभन्दा छिटो ‘क्याथ ल्याब’ (मुटुका बिरामीहरुमा तार छिराएर बेलुन हाल्ने प्रविधि) सहितको मुटुको सेवा सुरु गर्छौं, जुन दुईवटा मेडिकल कलेजहरुमा पहुँचवालाहरुले मात्र गर्छन् । निकट भविष्यमा एमआरआई आउँदैछ । मैले अघि नै भनेको अतिविशिष्टीकृत सेवा सुरु भइसक्या छैन, त्यो हामी सुरु गछौं ।

त्यसपछि हामी इमर्जेन्सी ल्याब बनाउँदैछौं, सिरियस बिरामीलाई छिटोभन्दा छिटो ल्याबको रिपोर्ट आओस् भनेर । हामी अस्पतालभित्र ट्रमा सेन्टर विकास गर्दैछौं । किनभने अहिले प्राइभेटमा जान्छन् एक्सिटेन्ड केसहरु सबै । अब हाम्रो अस्पतालभित्रै ट्रमाको केसहरु ल्याउँदैछौं । यी पाँचवटा चाहिँ एकदम मेजर फोकसमा पर्छ । अर्काे एकेडेमिक काम पनि गर्दछौं । नर्सिड्डलगायत डाक्टरहरुलाई चाहिँ विशेषज्ञताअनुसार प्राध्यापक, उपप्राध्यापक, सहप्राध्यापक दिने हुन्छ नि जुन, त्यसको लागि एकेडेमिक भवन बनाउँदैछौं । र, यो अस्पतालको ठूलै समस्याको रुपमा रहेको ढल र फोहोर व्यवस्थापनको काम पनि हामी टुङ्ग्याउँदैछौं ।

गुरुयोजना केही छन् ?

– पहिलो गुरुयोजना नरबहादुर खाँडले बनाउनुभयो, दोस्रो गुरुयोजना विजय सुवेदीले बनाउनुभयो । त्यसलाई अझ बृहत् रुपमा एक हजार बेडको विशिष्टीकृत सेवा दिने अस्पतालको रुपमा मोडिफाइ गरेको गुरुयोजना बनाउँदैछौं । अबको करिब ३ देखि ६ महिनामा गुरुयोजना बनेर आइसक्छ ।

अस्पताललाई केन्द्रीय अस्पताल भनिरहँदा विभिन्न कोणबाट आ–आफ्नै ढंगले बहस हुने गरेको छ । यो अस्पताल किन, कसरी केन्द्रीयस्तरको अस्पताल हो ?

-केन्द्रीयस्तरको हुनलाई कति बेड हुनुपर्ने भन्नेमा चाहिँ पाँच सय हुनुपर्ने भन्ने छ, हाम्रो पहिल्यै छ सय छ । कति सेवाग्राही हुनुपर्ने ? भन्ने छ, त्यसमा नेपालकै सबैभन्दा धेरै ओपिडी सर्भिस फ्लो हुने अस्पताल भयो । त्यसपछि विभिन्न विभाग र युनिटहरु । यति, यति वटा विभाग र युनिट भयो भने केन्द्रीयस्तरको हुन्छ भन्ने छ, ती सबै क्याटगोरीभित्र हामी छौं । त्यसो हुनाले हामी केन्द्रीयस्तरकै अस्पताल हो, सेवालाई सुधार्यां भने त्यो अझ पूर्ण हुन्छ ।

तपाईं यस अस्पतालमा लामो समयदेखि कार्यरत रहनुभएकाले तपाईंले देख्नुभएको यसको इतिहासदेखि वर्तमान अवस्था संक्षिप्तमा कस्तो पाउनुभएको छ ?

– यस अस्पतालमा तीन फेज मैले देखेको छु । यो अस्पताल आजभन्दा २० वर्ष अगाडि जिल्ला अस्पताल अथवा सामान्य अस्पतालको रुपमा रह्यो । अघिल्लो १० वर्ष अस्पतालले भौतिक संरचना र स्वास्थ्य सेवामा गुणात्मक फड्को एकदम धेरै मारेको छ । बीचको १० वर्षमा त्यतिखेरका अध्यक्ष र मेडिकल सुपरिन्टेन्डेन्टले धेरै राम्रो काम गर्नुभयो । तर त्यति गर्दा पनि के भयो भनेदेखि स्वास्थ्य बिमा कार्यक्रम आइसकेपछि यति धेरै स्वास्थ्यका अपेक्षा मान्छेहरुमा भयो कि करिब साढे दुई लाख मान्छे भरतपुर अस्पताल भनेर बिमित हुनुहुन्छ । त्यसो भएकाले अहिले यो भौतिक संरचना र विकास पनि हामीलाई कम भयो । अब हामीसँग भएको सिटिईभिटी, मेडिकल कलेजलगायतका मुद्दाहरु सल्टाई अगाडि बढेर व्यवस्थित गराउनुपर्ने मेरो जिम्मेवारी छ ।

तपाईंले स्वास्थ्य बिमाको कुरा गर्दै गर्दा अस्पतालको फार्मेसीमा बिमाका औषधि पाउन एकदम मुस्किल रहेको गुनासो छ । धेरै थरी औषधि लेखिएको ठाउँमा एकाध मात्रै अस्पतालको फार्मेसीबाट दिएर अरु बाहिर नै किन्न लगाउने गरेको व्यापक जनगुनासो छ । किन यस्तो भएको, यसको व्यवस्थापनको लागि के गरिरहनुभएको छ ?

– अघिल्लो वर्ष म आउँदा अस्पतालका औषधिहरु टेण्डर भइसकेको थियो । यो वर्षको औषधि टेण्डर हुँदा जुन–जुन जति रेटमा दिन्छु भनेर भन्थे सप्लायर्सले त्यो रेटमा दिन नसकेको कारणले गर्दा औषधि नपाएर जनताले दुःख पाएका हुन् । तर उनीहरुलाई ब्ल्याक लिस्टमा राखेर आइन्दा टेण्डरमा समेत एप्लाई गर्न नसक्ने गरेर कानुनी कारबाही गरिसकेर सहज ढंगले औषधि पाउने वातावरण बनाइएको छ ।

तपाईंले भनेजस्तै विगतमा १०० मा ५० प्रतिशतभन्दा बढी औषधि पाइएकै थिएन । ४० देखि ५० पर्सेन्ट पाइएको थियो । अहिले हामी करिब ७० पर्सेन्टको हाराहारीमा पुगेका छौं । र, हामी लक्ष्यमा छौं कि ९० प्रतिशतको हाराहारीमा पु¥याउने । १० पर्सेन्ट औषधिचाहिँ चिकित्सकले एकदम विशिष्टीकृत औषधिहरु सिफारिस गर्नुहुन्छ, जुन बिमामा नपर्न पनि सक्छ । मेरो लक्ष्य ९० पर्सेन्ट पु¥याउने छ ।

पछिल्लो समय भरतपुर अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट छिनछिनमा परिवर्तन भइरहेको देखिन्छ, किन होला ? यसले अस्पतालको कामकारबाही तथा अस्पताल विकासको गतिशीलतामा कुनै असर नपर्ला ?

– मेडिकल सुपरिन्टेन्डेन्ट छिटोछिटो परिवर्तन हुँदा अस्पतालको दैनिक क्रियाकलापमा धेरै ठूलो नकारात्मक असर पर्छ । तर यहाँ अलिकति राजनीतिक प्रभाव पनि आउने गर्छ । किनभने यो बीचमा धेरै राजनीतिक उतारचढाव भयो । मन्त्री नै सात जना चेञ्ज हुनुभयो, मेडिकल सुपरिन्टेन्डेन्टको के कुरा ? मन्त्री सातजना, सचिव पाँचजना चेञ्ज हुनुभयो । भनेपछि मन्त्री र सचिवले हो मेडिकल सुपरिन्टेन्डेन्ट बनाउने ।

क्यान्सरमा चाहिँ अस्पताल अध्यक्ष र बोर्डले मिलेर मेडिकल सुपरिन्टेन्डेन्ट बनाउँछ । भरतपुर अस्पतालको मेसुचाहिँ स्वास्थ्य मन्त्रालयले बनाउँछ । स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीहरु मन्त्रीलगायत परिवर्तन हुँदा मेडिकल सुपरिन्टेन्डेन्ट अफ कोर्स महत्वपूर्ण अस्पताल भएको हिसाबले परिवर्तन हुन्छ । तर दुई महिनामात्रै बाँकी रहेको एकजना डाक्टर सा’पलाई चाहिँ रिटायर्ड हुनुभन्दा अगाडि पठाइयो ।

त्यसपछि अर्काे डाक्टर पठाउनु¥यो, त्यसले गर्दा त्यहाँ बढी भएजस्तो देखियो । दुई चोटिचाहिँ हामीलाई कोभिडको बेलामा भएको भएर निमित्त मात्र नदिइकन आर्थिक अधिकार दिनुपर्ने भएको भएर डाक्टर जगन्नाथलाई दुईचोटि मेसु बनाइयो । यसरी संख्या अलि धेरै देखिएको हो खास । अहिलेसम्म सुपरिन्टेन्डेन्टको कार्यकाल नतोकिनु पनि धेरै परिवर्तन भइरहनुको एउटा कारण हो । तर अब हाम्रो आशा के हो त भन्दा मेडिकल सुपरिन्टेन्डेन्टकै पोष्टमा प्रोफेसर कृष्ण आउनुभएको र यो वर्ष उहाँ एघारौं तहमा अपग्रेड भइहाल्ने भएको हुनाले उहाँ आएपछि अबचाहिँ लामो समय मेडिकल सुपरिन्टेन्डेन्ट रहनुहुन्छ भन्ने कुरामा म आशावादी छु ।

तर अस्पताल विकास समितिले यति धेरै निर्णयहरु ग¥यो, मेसु चेञ्ज भइरहँदा ती निर्णयहरु कार्यान्वयनमा समस्या भएर सेवा प्रभावित भए । त्यसो भएको भएर अब अहिले उहाँ आउँदाआउँदै हामीले गरेका निर्णयहरु सेवासँग जोडेर काम गरिदिनुपर्छ भन्ने अनुरोध छ । र, केही सुधारका लक्षणहरु सुरु भइसक्या छन् ।

अस्पतालमा गरीब, विपन्न वर्गका बिरामीहरुको औषधोपचारमा के–कस्ता काम भएको छ ?

– गरीब, विपन्नको लागि त नेपालकै सबैभन्दा उदाहरणीय अस्पताल हो यो । म तीनवटा कारणले भन्छु– सामाजिक सुरक्षा इकाइ भन्ने छ हाम्रो । त्यसमार्फत् वर्षको करिब चार करोडको जिरो बिलमा उपचार भएको छ गरीबहरुलाई । अर्काे इमर्जेन्सीमा आउनेहरुलाई छुट्टै फेरि विपन्न, गरिब, असहाय भनेर छुट दिने (जिरो बिल बनाउने) अहिले नयाँ सिस्टम आएको छ, त्यो लागु गर्ने भरतपुर अस्पताल दोस्रो अस्पताल हो ।

तेस्रो त्यसबाट पनि खर्च कभरिङ नभएमा वा विपन्न हो त्यसले पनि धानेन र अन्य खर्च भयो भने त्यसलाई हेर्ने फेरि अर्काे अतिविपन्न कोष भनेर अस्पताल विकास समितिले बनाएको छ र हामी सहयोग गर्छाैं । बरु हामीले कहाँ–कहाँ सहयोग गर्छां भन्ने थाहा नपाएर नआउनु भएको बिरामी हुन सक्छ, उहाँहरुलाई म अस्पताल आएर आफू गरीब हो, विपन्न हो तर सुविधा पाइराछैन भने सम्बन्धित निकायमा– हामीलाई आएर भन्न अनुरोध गर्छु । र, आठवटा रोगहरुमा सरकारले जुन छुट दिन्छ, त्यो छुट सबै विषयमा– स्पाइनल इन्जुरी, मृगौलाका रोग, मुटुका रोग यी आदि सबैमा हामीले छुट दिने गरेका छौं । आगामी दिनमा बिमालाई पनि व्यवस्थित गर्ने, विपन्नलाई पनि व्यवस्थित गर्ने र इमर्जेन्सीलाई पनि व्यवस्थित गर्ने गरेर सकेसम्म मान्छेहरुलाई पैसाको कारणले गर्दा उपचार नपाउने वातावरण नहोस् भन्ने कुरामा हामी होसियार छौं ।

भरतपुरमा च्याउ उम्रेझैं प्राइभेट अस्पतालहरु खुलिरहेका छन् । सबैमा बिरामीहरुको लस्कर उत्तिकै देखिन्छ । महँगो भएपनि मानिसहरुले प्राइभेट नै रुचाइरहेको पाइन्छ । सरकारी अस्पतालप्रति मानिसहरु किन त्यति विश्वस्त हुन नसकेका होलान् ?

– शिक्षा र स्वास्थ्यमा तुलना गर्नुहोस् त– शिक्षामा बोर्डिङहरु फ्लोरेसिङ छन्, सामुदायिक विद्यालयहरु छैनन् । तर हामीसँग एउटामात्र सरकारी अस्पताल हो, ठूलो अस्पताल त एउटा हो नि ¤ हामीसँग दैनिक १५ सयको वरिपरि ओपिडी हुन्छ कहिलेकाहीँ, यो सानो संख्या होइन । प्राइभेटमा करिब ६० देखि ७० लाई पनि ठूलो मानिन्छ, त्यहाँ पैसा जोडिएको हुनाले । हामीसँग १५ सयको हाराहारी ओपिडी, दैनिक ४० जना डेलिभरी अनि छ सय बेडमा ९० पर्सेन्ट बेड सधैं प्याक हुन्छ । यो भनेको हाम्रोमा माग बढेको हो ।

३० जनालाई जन्ती जाने भनेर बनाएको ठाउँमा तीन सय जना आए भने त होटलले पु¥याउन सक्दैन । त्यस्तै हामीलाई गाह्रो भएको हो । यो गाह्रो–साँघुरो फुकाउन हामी भौतिक सेवालाई सुधार गर्ने पक्षमा छौं । र, यी प्राइभेट अस्पतालहरुलाई पनि रेगुलेट गर्ने हुन्छ नि ¤ यिनीहरुलाई अनुगमन, नियमन गर्ने नेतृत्वचाहिँ सरकारी अस्पताललाई दिनुपर्छ । बल्ल यो अझ बढी व्यवस्थित हुन्छ ।

केही अघि कोरोना संक्रमित बिरामीहरुको चापाचाप हुँदा पनि भरतपुर अस्पतालमा निकै राम्रो काम भएको भनी प्रशंसा भएको थियो । अहिलेसम्म यस अस्पतालमा कति जना कोभिड संक्रमितको उपचार भयो । त्यसमा कतिलाई बचाउन सकियो, कतिलाई सकिएन । जतिलाई बचाउन सकिएन बचाउन नसक्नुको कारणचाहिँ के–के रह्यो ?

– साह्रै राम्रो प्रश्न छ । कोभिडको उपचारमा नेपालको एक नम्बर अस्पताल भनेर हामीले पुरस्कार पाएका छौं । हामी काठमाडौंभन्दा बाहिर कोभिड आइसोलेसन खोल्ने, कोभिडको आईसीयु खोल्ने, कोभिडको एचडीयु खोल्ने, कोभिड भएर आउनेलाई अप्रेसन पनि गर्ने, कोभिड नभएकोलाई पनि गर्ने, कोभिड भएकालाई पनि डेलिभरी गराउने हामी पहिलो अस्पताल हो । र, धेरै बढी उमेर समूहकालाई– ८५ वर्षसम्मकालाई हामीले बचाएका छौं ।

करिब छ सय मानिसलाई हामीले कोभिडमा सेवा दियौं । सरकारले १४ दिनसम्मकोलाई मात्रै पैसा नलिनु भनेको थियो । हामीले ४५ दिन बस्नुपर्दा पनि, कोभिडको कारणले बसेको हो भने पैसा नलिइकन बिरामीहरुलाई उपचार ग¥यौं । यसरी उपचार गर्ने क्रममा अक्सिजन सबैभन्दा ठूलो हतियार थियो । अक्सिजनको अभाव कहिल्यै हुन दिएनौं भरतपुर अस्पतालमा । हाम्रो आफ्नै प्लान्ट छ । तर त्यति गर्दा पनि हाम्रो मृत्युदर महिना–महिनामा हेर्दा करिब–करिब ६ देखि ११ पर्सेन्टको हाराहारीमा रह्यो । जुन चाहिँ अन्तर्राष्ट्रिय रुपमा सिरियस बिरामीको रेसियुमा हेर्याे भने फेरि कम हो ।

करिब–करिब ३० प्रतिशतसम्म मृत्यु हुन्छ सिरियस बिरामी आईसीयुमा बसेकोमा । हाम्रो ११ प्रतिशत थियो । ज–जसलाई बचाउन सकिएन, उहाँहरुको नतिजा हेर्दा– उहाँहरु ढिलो आउनु, होम आइसोलेसनमा धेरै समय बस्नु, साह्रै चापेपछि मात्रै आउनु, आइहालेपछि पनि आत्तिएर मनोबल कमजोर हुनु र पहिल्यै पुराना रोग भएका बिरामीहरु सुगर, मुटुको रोग, पहिल्यैदेखि दम भएकाहरुलाई बचाउन गाह्रो भएको भेटियो । कोभिड पहिलोपटक आएको रोग हुनाले उपचारमा कतिपय कमीकमजोरीहरु पनि जताततै भयो । किनभने फस्र्ट टाइम आएको रोग भएकोले बुझाइमा पनि समस्या रह्यो, जुन हामी सिक्दैछौं, सुधार गर्दैछौं ।

फेरि पनि कोरोना संक्रमण बढ्यो वा त्यस्तै कुनै अर्काे महामारी आइप¥यो भने पूर्वतयारीको अवस्था के छ भरतपुर अस्पतालमा ?

– गम्भीर प्रकृतिका कोरोनाका बिरामीहरुलाई उपचार गर्ने ठाउँहरु आईसीयु, एचडीयु, आइसोलेसन हामीले घटाएकै छैनौं । केही सेवाहरु पूर्ववत् सञ्चालन गरिसक्यौं । कोभिडको त्यो सेटअप राखेर पनि पूर्ववत् गरिसक्यौं । हामी अर्काे ठूलो क्यापिसिटीको अक्सिजन प्लान्ट बनाउँदैछौं, तयार हुँदैछ । हाम्रो ‘सी’ ब्लक रेडी हुँदैछ । ‘सी ब्लक’ मा करिब–करिब ४०–५० बेड एक्स्ट्रा चाहियो भने १५ दिनभित्र रेडी गर्ने गरेर हामी तयार छौं । हाम्रो कुरुवा घरलाई कुरुवाकै घरको रुपमा प्रयोग गरेका छैनौं अहिलेसम्म । कोभिड बढ्यो भने त्यसलाई पनि कोभिडका लागि प्रयोग गर्न सक्छौं । त्यसकारण हामीले करिब–करिब दैनिक अहिले दुई सयसम्म बेड कोभिडलाई छुट्यायौं भने भविष्यमा त्यो भवितव्य आयो भने तीन सय बेडसम्म कोभिडलाई छुट्याउने गरेर हामी तयारीमा छौं । बच्चाहरुमा कोभिड आउनसक्छ भनेर बच्चाको आईसीयु पनि बनाउँदैछौं, त्यो टेण्डर प्रक्रियामा गइसक्यो ।

अन्त्यमा, तपाईं एक वरिष्ठ फिजिसियन तथा मधुमेह, मृगौला, उच्च रक्तचाप र थाइराइड रोग विशेषज्ञ हुनुहुन्छ । तपाईंको तर्फबाट भन्नुपर्दा स्वस्थ जीवनयापनका लागि मानिसहरुले के–कस्ता कुरामा ध्यान दिनु उचित होला ?

– सामान्यतः खानुपर्दा तीनवटा कुरा कम खाइदिन भन्छु– नुन, चिल्लो र गुलियो । यो तीनवटाले धेरै नराम्रो निम्त्याउँछ रोगहरुमा । दीर्घरोगहरु नलागोस् भनेर यो तीनवटा अपनाउन भन्छु । अहिलेको महामारीमा एस.एम.एस. । एस. भनेको सोप (साबुन) र सेनिटाइजर । एम. भनेको मास्क र अर्काे एस. भनेको सोसियल डिस्टेन्सिङ अथवा सामाजिक दूरी अपनाउन भन्छु । त्यसपछि जहिले पनि उमालेर नर्मल तापक्रममा ल्याएको पानी राम्रो हो । धेरै तातो र धेरै चिसो ठिक होइन । धुम्रपान र मद्यपान जहिले पनि स्वास्थ्यका लागि हानिकारक नै हो । वनस्पतिजन्य चीजहरु खाने, रेगुलर २० देखि २५ मिनेट हिँड्ने अथवा कसरत गर्ने र माइन्डलाई जहिलेपनि पोजिटिभ एटिच्युडमा राख्यो भने स्वस्थ हुन सकिन्छ ।

टिप्पणीहरू