​कमरेडको मन दुःखेको बेला

० तपाईं नआउने ?

– आउँदिन–आउँदिन । मेरो म्याद सिद्धियो । फागुनसम्म हेर्नु भनेको हो, चैत लागेपछि आउँदिन ।

० त्यसो भए अब कसलाई भन्ने त ?

– केपी ओलीलाई भन्नुस् ।

सभामुख कृष्णबहादुर महराले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेको तर्फबाट गइरहेका व्यक्ति नपुगेपछि स्वाभाविक हो, सभामुखको सचिवालयले सोध्ने नै भयो । तर, जवाफ यस्तो जाँदा फोन गर्ने कर्मचारी दंग परे ! जवाफ दिने नेता हुन्, भानुभक्त ढकाल ।
संसदीय दलमा एमालेले प्रमुख सचेतक र सचेतक चयन गरिसकेको छैन ।

यसअघि प्रमुख सचेतक रहेका ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि सोही भूमिकामा रहनु भनेर पार्टी अध्यक्ष तथा प्रम केपी ओलीले अह्राएका थिए । तर, अहिले ढकालको तर्क छ, ‘मलाई फागुनसम्मका लागि भनिएको हो । चैत लागिसक्यो ।’ हिजो जनआस्थासँग पनि भने, ‘अहिलेसम्म मैले गरेँ, अब आउनुहुने साथीले गर्नुहुन्छ ।’ संसदभित्रबाट हुने विभिन्न चुनावका लागि काम गर्ने निर्देशन थियो । चैत २ गते उपसभामुखको चयन सकिएपछि आफ्नो काम सकिएको सुनाए– ‘अब प¥यो भने सुवाष दाइहरु (नेम्वाङ) हुनुहुन्छ, उहाँहरुले गर्नुहोला, नभए नयाँ आउने साथीले गर्नुहुन्छ ।’

खासमा कुरा यतिमात्र हैन । भानुमाथि अन्याय नै भएको छ । मन्त्रिपरिषद् विस्तार हुने दिन नहुनेलाई खबरै गएन, हुनेलाई तयार हुनु भनियो । भानुलाई बरु खबर गरेको भए केही नहुने रहेछ, ‘तयारचाहिँ भइराख्नु नि’ भन्नेखालको दोधारे कुराले सताएको छ । त्यसैले रिसाएका छन् । पहिला पनि यस्तै–यस्तै भएको थियो । ओली पहिलोचोटि प्रधानमन्त्री भएकै बेला उनी मन्त्रीका दावेदार थिए । ‘हुने–हुने’ भन्दाभन्दै प्रमुख सचेतक छाडेर अग्नी खरेल मन्त्री भए । त्यो पदमा भानुलाई लगियो । पहिला त सहर्ष स्वीकारे । तर, अहिले भन्ने गरेका छन्, ‘पहिला मलाई अग्नीको जुठो चाट्न लगाए । अहिले त चाट्ने ठाउँ पनि नराखी सिध्याए ।’

भूमिकाहीन बनाइएको गुनासो ‘ठाउँमा’ पुगेकाले होला, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सभापतिका रुपमा सिफारिसमा परे । तर, जान मानेनन् । उनले अस्वीकार गरेकै कारण चितवनबाट वकालती पृष्ठभूमिका नेता कृष्णभक्त पोखरेल उक्त समितिको सभापति भएका छन् । ढकालले प्रधानमन्त्रीका मान्छेहरुसँग मन्त्रीमुनीका कुनै पनि पद नखाने बताइसकेका छन् । पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी अब प्रमुख सचेतकको लाइनमा छन् ।

यो घटना एउटा सांसद प्रधानमन्त्रीसँग रिसाएको, अर्थात् सामान्य कुरा भने होइन । पार्टी कामका दौरान लामो समय केपी ओलीको साथमा रहेको एउटा तप्का नै असन्तुष्ट बनिरहेको छ । अहिले ओली गुटको नभएर पार्टीको अध्यक्ष र देशकै प्रधानमन्त्री । त्यसमा भित्रियालाई मात्र राख्न पनि मिल्दैन । तर, भन्न के थालिएको छ भने, जनकपुरमा आयोजित सातौँ महाधिवेशनताका माधव नेपालपक्षधरले ओलीलाई रामा होटलमा बस्न नसक्ने वातावरण बनाइरहँदा उनीसँगै निस्कने चार–पाँच भाइमध्ये अहिले कोही पनि छेउछाउमा छैनन् । भानु तिनैमध्येका हुन् । उनीहरुले प्रदेश ४ बाट रवीन्द्र हैन, खगराज नै हुनुपर्छ भनेका थिए । त्यो पनि भएन । खगराजलाई नमज्जा कस्तो भने, आफैँले बनाएको गणेश तिमल्सिना हेर्दाहेर्दै राष्ट्रियसभा अध्यक्ष बनिसके । 

टिप्पणीहरू