एमाले महाधिवेशन बुटवलबाट किन चितवन सर्यो ?

नेकपा एमालेको असोज तेश्रो साता गोदावरीमा सम्पन्न बिधान महाधिवेशनमा अध्यक्ष केपी ओली आफैले उपमहासचिव बिष्णु पौडेललाई मन्चको ठाउँका ठाउँ सोधेर घोषणा गर्नुभएको स्थान बुटवलबाट सार्दै आज चितवन पुर्याइएको छ ।

तुल्सीलाल स्मृति भवनमा जारी स्थायी कमिटी बैठकले अर्को महिना मङ्ग्सिरको १० देखि १२ गतेसम्म चितवनमा हुनेगरी बाधारहित नयाँ नेतृत्व चुन्ने दशौँ महाधिवेशनको स्थान तोकेको हो । अरु निर्णयका निम्ति बैठक भोलि दिउँसो २ बजे फेरि बस्नेछ ।

आजको बैठकले चितवनमा महाधिवेशन आयोजना गर्न त्यहीँबाट पहिले चुनाव लडेका पूर्व माओवादी नेता रामबहादुर थापा “बादल” को नेतृत्वमा गोदावरीकै निरन्तरतास्वरुप २१ सदस्यीय ब्यवस्थापन समिति प्रस्ताव गरिएको छ ।

चितवन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र हो जहाँको भरतपुर महानगरपालिकामा उहाँकी छोरी रेणु दाहाल मेयर हुनुहुन्छ । एमाले महाधिवेशन बुटवलबाट चितवन सर्नुमा यसको पनि खास अर्थ छ किनकि राजनीतिमा धेरैजसो “देखाइदिने” भावनाले पनि काम गर्दछ ।

आज बैठककै आसपास पार्टी प्रवेश कार्यक्रम पनि राखिएको थियो जसअनुसार,नेपाली काङ्ग्रेस रसुवा जिल्ला सदस्य कृपाछिरिङ दोर्जे तामाङ, निमाकेसङ तामाङ,रसुवाकै तरुण दलका,लयल तामाङ,वीरगन्जका जसपा वडाध्यक्ष प्रदीप चौरसिया र ताहिर हुसेनले आ-आफ्नो पार्टी परित्याग गरी एमाले रोजेका छन् ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारसङ्ग कुरा गर्दै १० बुँदेको कार्यान्वयन केही ठाउँमा भैसकेको र रहलपहल भोलिको बैठकमा कार्यदलले पेश गरेको प्रतिवेदनअनुसार हुने भएकोले यसलाई बढि नचर्काउने निर्णय भएको बताए ।

टिप्पणीहरू