​कांग्रेस जोगाउने मज्जाको काइदा

गगन थापाको कानमा हाँस्य कलाकार दीपकराज गिरीले एउटा मन्त्र फुकेका रहेछन् । अब नेपाली कांग्रेसको साख कसरी फर्काउने ? भनेर गगनले सोध्दा दीपकले भनेछन्, ‘आजभोलिमा केपी ओलीसँग भेट हुने सम्भावना छ । त्यसबेला म भन्छु, तपाईंहरुले बेला–बेलामा नेपाली कांग्रेस पार्टी अहिले पनि छ । त्यसको सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ भनेर भाषण गरिदिनुप¥यो ।’

गगनले सोधे, ‘यसो गरेर के हुन्छ ?’ दीपकले भने, ‘जनतामा अहिले कांग्रेस नै छैन, सक्किइसक्यो भन्ने परेको छ । एमालेकै नेताले कांग्रेस पार्टी अझै पनि छ है भनेर पाँच वर्षसम्म भनिदिए कांग्रेसका भोटरले पनि पत्याउने भए । कम्तिमा कांग्रेस छ भन्दा मात्रै मतदाता सुरक्षित हुन्छन् †’ केही दिनअघि पुरानो बानेश्वरको अनुपम फुडल्याण्डमा एक कांग्रेस कार्यकर्ताको विवाहभोज चल्दा गगन, गुरु घिमिरे, उर्मिला थपलियासहित नेविसंघ पृष्ठभूमिका एक हुल नेता दीपकराज गिरीको सुझाव सुनेर पेट मिचीमिची हाँस्दै थिए । उर्मिलाले भनिन्, ‘कांग्रेस छ भनिदिए त राम्रै हो, तर शेरबहादुर नै सभापति छन् भनेपछि दिनेले पनि भोट नदेलान् नि !’

जनआस्थाले दीपकराज गिरीलाई उक्त सुझावबारे प्रश्न गर्दा ‘व्यङ्यस्वरुप’ दिएको बताए । उनका अनुसार, अहिले देशमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्री, मुख्यमन्त्रीसहित कुनै पनि लाभको पदमा कांग्रेसको नामोशिान छैन । नेपालको इतिहासमा यस्तो कहिले पनि भएको थिएन । पञ्चायतकालमा पनि सरकारमा एउटा न एउटा कांग्रेस पृष्ठभूमिको मन्त्री हुन्थ्यो । अहिले कोही, कतै नदेखेपछि जनतामा कांग्रेस सकिएछ भन्ने भ्रम पर्ला । एमालेले नै ‘कांग्रेस छ’ भन्दा त पत्याउनुप¥यो नि !

टिप्पणीहरू