​संविधानमा थप समस्या

फेरि संविधानमा यस्तो त्रुटी फेला परेको छ कि, न कतै व्याख्या गराउन मिल्ने, न त कुनै निर्णयमै पुग्न सकिने । प्रदेश ५ मा राजपाकी एकमात्र समानुपातिक सांसद छिन्, बीना पन्त । उनले शपथअघि नै आफ्नो दलसमक्षा राजीनामा बुझाइसकिन् । तर, अहिलेसम्म स्वीकृत भएको छैन ।

नाताले राजपा नेता सर्वेन्द्रनाथ शुक्लाकी बुहारी, सालाकी पत्नी । मधेसकेन्द्रित दल भन्ने, तर पहाडे समुदायको महिलालाई उम्मेदवार बनाउने भन्दै चर्किएको विवादका कारण राजीनामा दिन बाध्य भएकी हुन् । तर, प्रदेशसभालाई समस्या परेको छ– उनी सभाको सदस्य नरहेको कुरा कसरी प्रमाणित गराउने ? शपथ लिएकी छैनन्, तर निर्वाचन आयोगको सूचीमा सभासद् छिन् । कुनै पनि राजनीतिक दलले आफ्नो तर्फबाट सभासद् रहेका व्यक्तिले दल त्याग ऐनअन्तर्गत आफ्नो दल छाडेको सूचना निर्वाचन आयोगलाई दिएपछि पद स्वतः खारेज हुने व्यवस्था छ । यसअनुसार, राजपाले अहिलेसम्म निर्वाचन आयोगलाई सूचना दिएको छैन । न त, बीना शपथ लिन गएकी छन् ।

प्रदेशसभा सचिवालयसँग भएजति सबै सभासद्को सम्पर्क नम्बर र ठेगाना छ, तर बीनाको नामबाहेक कुनै पनि अभिलेख दर्ज छैन । सभा शुरु भएपछि लगातार १० बैठकमा अनुपस्थित सभासद्को पद सभामुखले खारेज गर्न सक्छन् । तर, उनले त शपथै लिएकी छैनन् । शपथ नलिएको सभासद्माथि सभामुखले कुनै कारवाही अगाडि बढाउन मिल्दैन । 

बुहारीको यस्तो चालाले गर्दा तनावमा छन्, सर्वेन्द्रनाथ शुक्ला । पार्टीकी एकमात्र सभासद्, त्यो पनि बुहारीले शपथ नलिँदा प्रदेशमै पार्टीको शून्य उपस्थिति हुने भएको आरोप लागेको छ । सर्वेन्द्रनाथ आफैँले पनि पहाडेमूलकी महिलासँग विवाह गरेका छन् । उनकी पत्नी काठमाडौंकी निरञ्जना शर्मा (लोहनी) हुन् र अहिले सभासद् भएर पनि बेपत्ता हुने बीनाचाहिँ उनकी सहोदर भाइबुहारी हुन् ।

टिप्पणीहरू