प्रकाशमान सिंहले भने– ‘देउवा र पौडेलपछिको सिनियर मै हुँ’

प्रकाशमान सिंहले भने– ‘देउवा र पौडेलपछिको सिनियर मै हुँ’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी महाधिवेशनमा सर्वसम्मत आफ्नो उम्मेदवारी रहने बताएका छन् । सहतमा देखिएको गुटको राजनीति तोडेर सभापतिको उम्मेदवारी दिइने उनले बताए ।

आफूलाई साझा उम्मेदवार नबनाए चुनावमा उत्रिन पनि पछि नपर्ने सिंहले बताए । ‘शेरबहादुर र रामचन्द्रपछि पार्टीमा सिनियर मै हुँ, मसंग अनुभव छ’ सिंहले भने– ‘पार्टीलाई सँस्थागत गराउन पनि कांग्रेसले मलाई अवसर दिनुपर्छ ।’ आगामी महाधिवेशनमा सम्मान गर्नुपर्नेलाई सम्मान गर्दै काम नगर्ने नेतालाई पाखा लगाउनुपर्ने उनले तर्क गरे ।

१४औं महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे दुबै गुटका नेतासँग छलफल भइसकेको पनि उनले संकेत गरे । ‘रामचन्द्र दाइ र शेरबहादुर दाइ दुबैजनालाई मैले व्यक्तिगत रुपमा भेटेर तपाईंहरु पार्टीको गार्जियन भई बस्नुस् भनिसकेको छु’ उनले भने ।

कांग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीकी आमाको निधनपछि अधिकारीलाई समवेदना दिन धादिङ आइपुगेका सिंहले हालसम्म नेतृत्वको कमजोरीकै कारण कांग्रेस कमजोर बनेको जिकिर गरे । निर्वाचनको बेला मात्रै जुर्मुराएर पार्टी सुदृढ नहुने भन्दै सिंहले यो महाधिवेशनमा अनुभवी र खारिएको नेतालाई उम्मेदवार बनाएर अघि बढाउनुपर्नेमा जोड दिए ।

‘सामाजिक सन्जालमा भाइरल हुँदैमा पार्टीको नेतृत्व गर्न सक्दैन’ उनले भने– ‘पार्टीलाई मजबुत बनाउन यो महाधिवेशनमा नेतृत्व परिवर्तन गरिछोड्ने अभियानमा म लागिरहेको छु ।’

टिप्पणीहरू