बागमतीमा सहमति तोडियो, मुख्यमन्त्रीमा आधा-आधा कार्यकाल

बागमतीमा सहमति तोडियो, मुख्यमन्त्रीमा आधा-आधा कार्यकाल

बाग्मती प्रदेशमा काँग्रेस र एकीकृत समाजवादीले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भएका छन् । विपक्षी गठबन्धनको आज हेटौंडामा बसेको बैठकले यस्तो सहमति गरेको हो ।

यसअघि केन्द्रमा सत्ता गठवन्धनका शीर्ष नेताले नेकपा (एकीकृत समाजवादी) लाई बाग्मतीमा सरकारको नेतृत्व दिने सहमति गरेको थियो । तर,काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीमा दाबी नछोडेपछि आधा-आधा कार्यकाल नेतृत्व गर्ने समझदारी जुटाईएको हो ।

सहमतिअनुसार अब पहिलो कार्यकाल समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुनेछ भने चुनावी सरकारको नेतृत्व बानियाँले गर्नुहुनेछ ।

बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेसंगै नयाँ सरकार गठनको प्रक्रिया आजैबाट शुरु भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मतको प्रस्तावमाथि अहिले प्रदेशसभामा छलफल भैरहेको छ ।

बागमती प्रदेशसभामा माओवादी केन्द्रको २३, काँग्रेसको २२ र एकीकृत समाजवादीका १३ सांसद छन् । १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५५ सांसद आवश्यक हुन्छ । विपक्षी गठवन्धनसँग रहेको संख्या बहुमतका लागि पर्याप्त हो । प्रष्ट अल्पमतमा रहेको एमालेसँग भने ४३ सांसद छन् ।

टिप्पणीहरू