अष्टलाई राजीनामा दिन आग्रह

अष्टलाई राजीनामा दिन आग्रह

बाग्मती प्रदेशमा प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जमरकट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिनुभएको छ । प्रदेशसभामा मुख्यमन्त्री शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल गर्दै नेता जमरकट्टेलले अन्यथा गरे कठोर विकल्पमा जान बाध्य हुने चेतावनी पनि दिनुभयो ।

मुख्यमन्त्री शाक्यले अलमल्याउने र सत्ता लम्ब्याउने खेल खेलिरहेको भन्दै उहाँले अब त्यस्तो नचल्ने चेतावनी दिनुभएको हो । शाक्यले सहजरुपमा मार्गप्रशस्त नगरे बहुमत सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुखकहाँ जान बाध्य हुने उहाँको भनाइ छ ।

विपक्षी गठवन्धनले पहिले नै बहुमत जुटाइसकेको भएपनि आफूहरु धर्यताका साथ पर्खिएको तर अब धेरै लम्ब्याउन नहुने जमरकट्टेलले बताउनुभयो । व्यक्तिगत रुपमा मुख्यमन्त्री शाक्यप्रति सम्मान रहे पनि अहिलेको अवस्थाले विश्वासको मत दिन नसक्ने उहाँको भनाइ छ ।

‘तपाईंलाई मुख्यमन्त्री बनाउन हिजो हामी पनि लडेकै हो । तर आफ्नो राजनीतिक इमानदारी र नैतिकता बचाउनु पर्छ । गठबन्धनले निर्णय गरेर आइसकेको छ,तपाईले मार्ग प्रशस्त गर्नुस् ।’ जमरकट्टेलले संविधान र लोकतन्त्र जोगाउनका लागि शाक्यलाई विश्वासको मत दिन नसक्ने प्रष्ट पार्नुभयो ।

नेता जमरकट्टेलले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई गठवन्धनका तर्फबाट मुख्यमन्त्रीका रुपमा प्रस्तावसमेत गर्नुभयो ।

टिप्पणीहरू