काठमाण्डौमै भाडा कसियो,कसले गर्ने अनुगमनकारी ?

काठमाण्डौमै भाडा कसियो,कसले गर्ने अनुगमनकारी ?

यातायात व्यवस्था विभागले हालै गरेको सार्वजनिक सवारी साधनको भाडा बृध्दिलाई देखाएर यातायात व्यवसायीहरुले नियम विपरित बढी असुल्न थालेका छन् । राजधानीमै नियम विपरित बढी भाडा असुल्दा पनि सरोकारवाला निकाय भने बेखबर देखिएको छ ।

यातायात व्यवसायीले गरेको आन्दोलनपछि बागमती प्रदेश सरकारको निर्णयमा विभागले स्थानीय रुटमा चल्ने सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडा बढाएको हो । कात्तिक ३ गते विभागले आफ्नो वेभसाइटमार्फत भाडा बढाइएको सूचना जारी गरेको थियो । तर,राजधानीमै विभागले तोकेको भन्दा बढी भाडा उठाउँदासमेत विभागले अनुगमन नगरेको यात्रुको आरोप छ ।

यातायात व्यवसायीको मागअनुसार सरकारले भाडा बढाएको हो । तैपनि व्यवसायीले मनलाग्दी भाडा भने उठाउन छाडेका छैनन् । पुल्चोकबाट गाडी चढेकी सिर्जना खतिवडालाई बानेश्वरसम्म गएको २५ रुपैयाँ लिइयो । भाडा बढेको छ भन्दै आफूसंग बढी रकम मागिएको उनले गुनासो गरिन् ।

“सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले भने ‘२ रुपैयाँको लागि पनि के किचकिच गरिरहने’ भन्दै गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन् ।”

सरकारले एक किलोमिटरबाट पाँच किलोमिटरसम्म न्यूनतम भाडादर १८ रुपैयाँ तोकेको छ । तर, यातायात व्यवसायीले भने गाडी चढ्नेबित्तिकै २० रुपैयाँ उठाइने गरेको यात्रुहरु बताउँछन् । लगनखेलबाट रत्नपार्कका लागि माइक्रो चढेका संगम अधिकारीले पनि छुट्टा नभएको बहानामा २० रुपैयाँ लिइएको बताए । विभिन्न बहाना बनाएर सहचालकले २ रुपिँया फिर्ता नगर्ने गरेको उनको भनाइ छ ।

आन्दोलनका नाममा बाटोमा सवारी साधन तेर्स्याउने व्यवसायीलाई कारबाही गर्नुको साटो सरकारले भाडा बढाउने निर्णय गरेका कारण सडकमा उनीहरुको मनपरि बढेको खतिवडा र अधिकारीजस्तै धेरै यात्रुको गुनासो छ । आन्दोलन गर्नेबित्तिक्कै सरकारले भाडा बढाइदिएकाले हौसिएका व्यवसायीहरुले यात्रुलाई ठग्न थालेको धेरैको आरोप छ ।

विभागले दूरीका हिसाबमा भाडा निर्धारण गर्ने गर्छ । तर,छोटो दूरीमा चल्ने सवारी साधनमा त्यसरी निर्धारण गरिएको भाडा लागू हुँदैन । आधा किलोमिटर यात्रा गर्नेले समेत २० रुपैयाँ तिर्न बाध्य भैरहेका छन् । न्यूनतम १८ भनिएको दूरीमा २५ र भाडादर २५ कायम भएको रुटमा ३० रुपैयाँ भाडा यातायात व्यवसायीले उठाउने गरेका छन् ।

यसबारे प्रश्न गर्दा सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले भने ‘२ रुपैयाँको लागि पनि के किचकिच गरिरहने’ भन्दै गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन् । उनले २ रुपिँयाका लागि धेरै बहस गर्नु आवश्यक नभएको बताए।

राजधानीमै खुलेआम मनपरी भाडा असुलिंदा पनि नियमनकारी निकाय यातायात व्यवस्था विभाग भने मूकदर्शक बनेर बसेको छ ।

टिप्पणीहरू