प्रधानमन्त्रीको देश दौडाहा तालिका कस्तो छ ?

प्रधानमन्त्रीको देश दौडाहा तालिका कस्तो छ ?

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो गृहक्षेत्र सुदूरपश्चिम प्रदेशको भ्रमणमा निस्कनु भएको छ । बाढी-पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका विभिन्न क्षेत्रको स्थलगत अवलोकनका लागि उहाँ आज बिहान ८ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ लाग्नुभएको हो ।

प्रधानमन्त्री सबैभन्दा पहिले सुर्खेत अवतरण गर्ने र त्यहाँ केहीबेर आराम गरेर दिपायल जाने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ । दिपायलस्थित सैनिक ब्यारेकमा केही समय बिताउँदा उहाँले ब्रिफिङ लिई सिधै बाढी-पहिरो प्रभावित बझाङको चतरातर्फ लाग्नुहुनेछ । त्यसपछि त्यहाँका बाढी-पहिरो प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकन गर्नुहुने छ ।

चतराबाट प्रधानमन्त्री देउवा बझाङको चैनपुरस्थित नेपाली सेनाको ब्यारेकमा पुग्ने कार्यक्रम छ । जिल्लाको सुरक्षा अवस्था र बाढी-पहिरोले पुर्याएको क्षतिबारे सेनाको ब्रिफिङ्ग सुनेर उहाँ बैतडीतर्फ लाग्नुहुनेछ । बैतडीको दुगाडमा बाढी-पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेपछि लन्च लिन गृहजिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ । सदरमुकामस्थित सेनाको ब्यारेकमा लन्च खाएर ब्रिफिङ सुनेपछि जोगबुढा पुग्नुहुनेछ ।

जोगबुढाका बाढी प्रभावित क्षेत्रको अवलोकन सकेर प्रधानमन्त्री देउवा महेन्द्रनगरतर्फ निस्कनुहुनेछ । जहाँ उहाँलाई नेपाली सेनाले सुरक्षा अवस्थावारे ब्रिफिङ गर्ने कार्यक्रम छ । त्यहाँबाट सिधै ब्रम्हदेव जाने र बाढी प्रभावित स्थानीयको कुरा सुनेपछि महाकाली पारि दोधारा-चाँदनी पुग्नुहुनेछ । त्यहाँबाट प्रदेश राजधानी धनगढी फर्किएर देउवा होटल डिभोटीमा बास बस्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा हवाई उडानमार्फत भोलि धनगढीबाट काठमाडौँ फर्किनुहुने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ ।

यता,बाढी-पहिरो प्रभावितको राहत र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाइरहेको प्रमुख प्रतिपक्ष एमाले भने पार्टीको अधिवेशनमा जुटेको छ । एमालेले पर्सि देशैभरि एकैसाथ वडा अधिवेशन र मंगलबार पालिका अधिवेशन गर्दैछ । त्यसको तयारीका लागि भन्दै आज स्थायी कमिटीको बैठक बोलाइएको छ ।

बैठकमा बाढी-पहिरो र डुबानले देशैभर पुर्याएको जनधनको क्षति र राहत तथा उद्धारमा सरकारको ध्यानाकर्षण गराउनेबारे पनि छलफल हुने बताइएको छ ।

टिप्पणीहरू