​यस्तो हुने रहेछ अबको आकार

शनिबार सम्पन्न माओवादी केन्द्रको आकस्मिक बैठकले एकीकृत कम्युनिस्ट पार्टीको केन्द्रीय समिति तीन सय ५० जनासम्मको बन्ने हिसाब निकालेको छ । चुनाव सकिएको १५ दिनभित्र एकीकरण टुंगो लगाउने समझदारी बनाएका एमाले र माओवादीले लगभग ३ महिनापछि बल्ल त्यसको हिसाब किताब थालेका हुन् । एकताको काम पछि सार्दै जाँदा विभिन्नखाले आशंका उब्जिएको भन्दै बैठकमा सहभागीले चिन्ता व्यक्त गरेका थिए । ०४७ मा माले–माक्र्सवादी मिल्दा १४–१४ को अनुपात मिलाइएकै शैलीमा ५०/५० प्रतिशतको नेतृत्व निर्माण गर्ने माओवादी प्रस्ताव छ । त्यसो त एमालेमा अग्नि खरेल, शिवमाया तुम्बाहाम्फे, सानुकुमार श्रेष्ठ विभिन्न राजकीय हैसियतका कारण पार्टी जिम्मेवारीबाट अलग्गिएपछि कायम २०३ सदस्यीय केन्द्रीय कमिटीमा माओवादीबाट ९९ जना थपेर तीन सय हाराहारीको बनाउने अर्को प्रस्ताव पनि छ ।

सोही बैठकमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ ले पार्टीगत हैसियत मिलाउने कुरा प्रमुख भएको बताए । उनले ‘प्रतिशत ठूलो कुरा होइन तर सम्मानजनक उपस्थितिलाई भने ध्यान दिनुपर्छ’ भन्ने धारणा राखेका थिए । थापाले लेफ्टहरूको मजबुतीले विश्वासको वातावरण बन्नेमा जोड दिए । एउटा सिंगो पार्टीको अध्यक्षका रूपमा प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गर्दा पारिकाले पनि फरक रूपमा बुझ्नेमा माओवादी नेताहरूको एकमत देखिएको स्रोतले बतायो ।

बैठकलाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले प्रमको भारत भ्रमणपूर्व एकता प्रक्रिया टुंग्याउँदा उताबाट हुन सक्ने सम्भावित चलखेलसमेतले मौका नपाउने हुनाले गम्भीरतासाथ काम भइरहेको बताए । भने ‘अब २५ प्रतिशत काम मात्र बाँकी छ । त्यसलाई २÷३ दिनमा टुंग्याउनुपर्छ ।’ माओवादीले यही चैत १५ गते सचिवालयको बैठक बोलाएर सबै कुराको छिनोफानो गर्ने भएको छ । चाँडै यो प्रक्रिया पूरा गर्न सकिएन भने परिस्थिति बदलिन सक्ने सम्भावना रहेको निश्कर्षमा माओवादी नेता पुगेको बताइन्छ । 

टिप्पणीहरू