धार्मिक जुलुसमाथि जब बौलाहा कार कुदाइयो

धार्मिक जुलुसमाथि जब बौलाहा कार कुदाइयो

भारतको छत्तिसगढस्थित जसपुरमा दुर्गामूर्ति विसर्जनको लागि जाँदै गरेको धार्मिक जुलुसमा जथाभावी चलाइएको कारले ठक्कर दिँदा २० जना सिकिस्त घाइते भएका छन् । जानजान भीडमा तीब्र गतिमा चलाइएको कारको ठक्करबाट ४ जनाको मृत्यु भएको छ ।

घटनापछि घाइतेहरुलाई स्थानीय जनताको सहयोगमा तत्काल उपचारको लागि पथलगाउँको सिभिल अस्पताल लगिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । जथाभावी कार चलाउने दुई जनालाई अभियुक्तको रुपमा पक्राउ गरिएको छ ।

पक्राउ परेका दुबै बब्लु विश्वकर्मा र शिशुपाल साहु मध्यप्रदेश निवासी हुन् । उनीहरू छत्तिसगढ हुँदै मध्यप्रदेशतर्फ जाँदै गरेको अवस्थामा स्थानीय धार्मिक जुलुसमा जथाभावी कार चलाएको भारतीय प्रहरीले जनाएको छ ।

यस्तै त्यहाँका मुख्यमन्त्री भूपेश बघेलले उक्त घटनालाई हृदयस्पर्शी भनेका छन् । मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अपराधीहरुलाई गिरफ्तार गरिएको छ । जिम्मेवार देखिएका प्रहरी अधिकारीहरुविरुद्ध कारबाही भइरहेको छ । छानबिनको आदेश दिइएको छ । घटनामा संलग्न कसैलाई पनि छाडिने छैन ।’

धार्मिक जुलुसमा सहभागीहरुमाथि चढाइएको कार मध्य प्रदेशको नम्बर प्लेट रहेको महिन्द्रा जाइलो हो । मानिसहरुमाथि अत्याचारी ढंगले चलाइएको कार घटनापछि केही पर सुनसान ठाउँमा फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

टिप्पणीहरू