कम्युनिस्ट कर्मचारी तानिन थाले छानीछानी

कम्युनिस्ट कर्मचारी तानिन थाले छानीछानी

पूर्ववर्ति ओली सरकारले झैं वर्तमान देउवा सरकारले समेत राजनीतिक आस्थाको आधारमा व्युरोक्रेटहरुमाथि भेदभाव प्रारम्भ गरेको छ । यो मामलामा अन्य मन्त्रालयभन्दा अघि गृह मन्त्रालय देखिन्छ । ०७८ आश्विन १० गते मन्त्रीका रुपमा गृह प्रवेश गरेका बालकृष्ण खाँणले पछिल्ला बीस दिनको बीचमा तीन पटक गरी ३२ जना सिडियो र सहायक सिडिओ हेरफेर गर्न भ्याएका छन् ।

आज भोलिमै कम्युनिष्ट निकटस्थ थप एक दर्जन सिडिओलाई गृहमा तानेर जगेडामा राखी त्यहाँ कांग्रेसनिकट कर्मचारी पठाउने तयारीमा गृह रहेको भए पनि गत १ असोजदेखि आएको बाढी पहिरोको कारण केही पर धकेलिएको गृह स्रोतको दावा छ । खाँण मन्त्री बनेको दुई सातापछि १५ असोजमा एकै पटक १६ कर्मचारी सरुवा गरेका थिए । ओली सरकारको पालामा सिडिओ बनेर विभिन्न जिल्ला हाँक्न गएका उपसचिव र सहसचिवहरुलाई पाँच,सात महिना नबित्दै फिर्ता बोलाएर त्यहाँ कांग्रेसनिकट कर्मचारीलाई ब्यवस्थापन गरिएको हो ।

७ महिनाअघि रसुवा पुगेका ईश्वरीप्रसाद ढकाललाई गृहमा तानेर जगेडामा राखिएको छ । उनी यसअघिका गृहसचिव महेश्वर न्यौपानेका साढु हुन् । त्यहाँ नवराज जैसीलाई खटाइएको छ । जैसी उपसचिवमा बढुवा हुनुअघि कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको सचिव थिए । बढुवा भएलगत्तै गृहको कर्मचारी प्रशासन महाशाखा चलाइसकेका उनलाई रसुवामा खटाइएको हो ।

यस्तै,लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल ५ महिनामै तानिएका छन् । त्यहाँ अध्यागमनमा रहँदा विवादमा मुछिएका शिशिर वैद्यलाई खटाइएको छ । लुइँटेल गत वैशाखमा मात्र लमजुङ्ग गएका थिए । यस्तै मुगुमा रोमबहादुर महत,भोजपुरमा कमल ढकाल,महोत्तरीमा बासु दाहाल, मनाङ्गमा रविन्द्र आचार्य, म्याग्दीमा चिरञ्जिवी राना,तेह्रथुममा अनुज घिमिरे तोकिएका छन् ।

यसअघि नै गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो गृह जिल्लामा ऋृषिराम तिवारीलाई खटाइसकेका छन् । उनलाई भूमिसुधार तथा मालपोतबाट गृहमा तानिएकै भोलिपल्ट रुपन्देहीको सिडिओमा खटाइएको हो । दशैंकै मुखमा गृहमन्त्रीले थप ४ कर्मचारी सरुवा गर्न भ्याए । चार जना मात्र कर्मचारी सरुवाको सूची सार्वजनिक गरिए पनि गृहको कप्रका हाकिम तथा सहसचिव सुनिल खनालले गुपचुप पत्नी सुप्रभालाई काठमाडौंको सहायक सिडियो बनाउन भ्याएका छन् ।

दशैंकै बीचमा थप १२ कर्मचारीको हेरफेर गरिएको छ । जसमध्ये प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा,डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाइएको छ । यस्तै अर्घाखाँचीका प्रजिअ विष्णु पौडेल र स्याङजाका प्रजिअ दिपकराज नेपाललाई गृहमन्त्रालयमा ल्याईएको छ । यसैगरी सहसचिव किरण थापालाई कैलाली, जगन्नाथ पन्तलाई पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, विपद् व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रजिअमा सरुवा गरिएको छ ।

मन्त्री खाणले पछिल्ला २० दिनमा मात्र ३२ जना कर्मचारीको जिम्मेवारी हेरफेर गर्न भ्याएका छन् । गृह स्रोतका अनुसार पाँचथरका सिडिओ तथा ओली निकटस्थ पुण्य ढकालसहितका अन्य एक दर्जन प्रमुख जिल्ला अधिकारी गृहमा तानिनेको हिट लिष्टमा छन् । दशैं विदा सकिएलगत्तै ती कर्मचारीलाई गृहमा तानेर काँग्रेस निकटस्थ कर्मचारी खटाउने तयारी भए पनि बाढी पहिरोका बितण्डाका कारण केही दिन सरुवाको काम रोकिएको बताइन्छ । गृहका अनुसार आठ महिना अवधि पूरा भइसकेकका सिडिओहरुलाई तानेर त्यहाँ अरुलाई पठाइदैं छ ।

टिप्पणीहरू