भारतबाट आएको देशी बिदेशी सैन्य टोली कता कता के के गर्दैछ ?

भारतबाट आएको देशी बिदेशी सैन्य टोली कता कता के के गर्दैछ ?

नेपाल भ्रमणमा रहेको भारतीय नेशनल डिफेन्स कोर्शका शिक्षार्थीहरुलाई मुक्तिनाथ र सोलुखुम्बुको नाम्चे घुमाउने कार्यक्रम राखिएको छ । आज मौसमले साथ दिएमा नाम्चे जाने कार्यक्रम राखिएको थियो । भोलि पोखरा हुँदै मुक्तिनाथ जाने कार्यक्रम छ ।

नाम्चे जाने क्रममा रामेछापको मन्थली विमानस्थल प्रयोग गरिने योजना छ । मन्थलीमा रिफ्युलिङको व्यवस्था भएकाले नाम्चेलगायत नजिकका स्थान घुम्दा फ्युल भर्न काठमाडौं आउन नपरोस् भन्ने सोच हो । घुमफिरमा सेनाका दुई वटा एमआई हेलिकोप्टर प्रयोग हुनेछन् ।

सेनाको योजनाबमोजिम पूर्व जाँदा नाम्चेमा र मुक्तिनाथ जाँदा पोखरामा ब्रेकफाष्ट खुवाइने छ । नेपाल बसाई र भ्रमणको खर्च भने भारतीय दूतावासले व्यहोर्ने छ । नेपाली सेनाले हेलिकोप्टरको फ्युल खर्च मात्र व्यहोर्नेगरी कार्यक्रम तय भएको छ ।

झण्डै चालिस जनाको डफ्फा र अन्य गरी ६० जनाभन्दा बढीलाई अस्ति दूतावासको तर्फबाट सोल्टी होटलमा रात्रीभोज दिइएको थियो । शिक्षार्थीहरु सबै दरबारमार्गस्थित याक एण्ड यति होटलमा बसेका छन् । होटल र भोज खर्च पनि दूतावासले ब्यहोरेको रक्षा मन्त्रालय श्रोतले बताएको छ ।

सैन्य स्रोतका अनुसार भारतीय डिफेन्स बजेटअन्तर्गत इन्टरनेशनल डिफेन्स कोअपरेशन शीर्षकको बजेटबाट उक्त खर्च ब्यहोरिएको हो । प्रायः दौत्य सम्बन्ध कायम भएका राष्ट्रहरुमा त्यस्तो खर्च गरिने प्रचलन छ ।

अहिलेको भारतीय नेशनल डिफेन्स कोर्षका शिक्षार्थीहरुको टिममा सार्कका अन्य राष्ट्रका सैनिक अधिकारीहरु समेत छन् । २० जना सैनिक अधिकारीमध्ये १६ जना सपत्नी आएका छन् । त्यसैले उनीहरुको कूल संख्या ३९ जना रहेको छ । सहभागी अफिसरमध्ये ४ जना एक्ला छन् । अरु सपरिवार आएका हुन् ।

टोलीमा महासेनानी अर्थात् फुल कर्णेलदेखि ब्रिगेडियर अर्थात् एक तारे जर्नेलसम्मका पदाधिकारी छन् । केही भने मन्त्रालयको सहसचिव तहका कर्मचारी समेत छन् । एक जना पूर्व सैन्य जर्नेलले भने, ‘नेपालमा पनि सैनिक विश्वविद्यालय शुरु भएपछि यस्तै भिजिट शुरु हुन्छ । यसो भएमा मात्र मुलुकको डिफेन्स मेकानिज्म बनाउन सजिलो हुन्छ ।’

यसैबीच हिजो जंगी अड्डामा टोली प्रमुख तथा भारतीय जल सेनाका दुई तारे जर्नेल धिरेन भिजले प्रधानसेनापतिसँग भेटघाट गरेका छन् ।अष्ट्रेलिया,भुटान,माल्दिभ्स र श्रीलंकाका शिक्षार्थीहरु समेत समावेश भ्रमणदल शनिबार भारत फर्किने कार्यक्रम छ ।

टिप्पणीहरू