सरकार तात्यो दु:खमा परेकालाई सघाउन,आज के के भए निर्णय ?

सरकार तात्यो दु:खमा परेकालाई सघाउन,आज के के भए निर्णय ?

सरकारले बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरुको परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ । आज दिउँसो आकस्मिक रुपमा डाकिएको मन्त्रिपरिषद्को बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने,राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउनेदेखि अवरुद्ध सडक,विद्युत्,सञ्चार तत्काल सुचारु गर्ने निर्णय गरेको छ ।

देशका विभिन्न भागमा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई २ लाख र सोही परिवारका थप सदस्यको मृत्यु भएको खण्डमा प्रति सदस्य थप एक लाख रुपैयाँका दरले अतिरिक्त राहत दिने निर्णयसमेत केही बेरअघि सम्पन्न क्याबिनेट बैठकले गरेको छ ।

क्याबिनेटले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । जसअनुसार हिमालमा ५ लाख,पहाडमा ४ लाख, तराईमा ३ लाख राहत उपलब्ध गराइने भएको छ ।

गत आइतबारदेखि निरन्तर परेको बर्षाका कारण मुलुकका विभिन्न स्थानमा गरी ४८ जनाले ज्यान गुमाइसकेका छन् भने ३१ जना बेपत्ता भएका छन् । विपद्मा परेर २३ जना घाइते अवस्थामा छन् । गृहको पछिल्लो विवरणअनुसार बाढीपहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ।

विभिन्न स्थानमा २० वटा घरमा पूर्ण क्षति पुगेको छ । आजको क्याबिनेट बैठकमा बाढीपहिरोमा परी मृतकका परिवारलाई राहत र घाइतेको निः शुल्क उपचार गर्नेमै केन्द्रित रहेर छलफल भएको एक मन्त्रीले जनआस्थालाई बताए ।

टिप्पणीहरू