प्रधानसेनापतिको भारत जाने तयारी शुरु

प्रधानसेनापतिको भारत जाने तयारी शुरु

प्रधानसेनापति प्रभुराम शर्माको पहिलो विदेश भ्रमण भारतबाट हुने भएको छ । भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको निमन्त्रणामा हुन लागेको उक्त भ्रमण तिहारलगत्तैको निम्ति तयारी गरिएको हो । उता (भारत) बाट नोभेम्बरमा भ्रमण गराउने भनिएकाले सोहीबमोजिम तयारी गरिएको सैन्य स्रोतले बताएको छ ।

स्रोत भन्छ, ‘चिफको भ्रमण पाइपलाइनमा छ । तर भिजिटबारे गरिएको तयारीलाई अहिलेसम्म गोप्य राखिएको छ । भ्रमणमा दुई पक्षीय र सैन्य सहयोग आदानप्रदानबारे छलफल हुने छ ।’

नेपाल र भारतबीच रहेको बाइलेटरल कन्सल्टेटिभ ग्रुपको बैठक पनि तिहारपछि हुँदैछ । उक्त समूहमा विशेषगरी सैनिक अधिकृतहरुको उपस्थिति बलियो हुने गर्छ । त्यसमा सैनिक सहयोगको आदानप्रदानबारे विस्तृत छलफल हुने बताइन्छ ।

उक्त ग्रुपको बैठकमा दुई देशबीचको सीमादेखि सहयोगसम्मको विषयलाई समेटिने गरेको छ । त्यसमा अर्थ मन्त्रालय,गृह मन्त्रालयका समेत प्रतिनिधि हुन्छन् । टोलीको नेतृत्व भने परराष्ट्र मन्त्रालयका प्रतिनिधिले गर्ने व्यवस्था छ ।

टिप्पणीहरू