ए,१३ सयमै एक सिलिन्डर ग्याँस ?

ए,१३ सयमै एक सिलिन्डर ग्याँस ?

झण्डै १५ सय रुपियाँ पर्ने एक सिलिन्डर खाना पकाउने ग्याँस १३ सयमै पाइयो भने नकिन्ने को होलान् र ? तर, प्रहरीले यसरी नै सस्तोमा ग्याँस किन्ने उपभोक्ताहरुको बाटो बन्द गराएको छ मकवानपुरको मनहरी ६ नयाँबस्तीमा । किनकि, सस्तोमा पाइने ग्याँस बैधानिक होइन रहेछ, चोरीको परेछ ।

घटना मंगलबार रातिको हो । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापा नेतृत्वको टोलीले एउटा चिया पसलबाट १८ वटा खाली र १३ वटा भरिभराउ विभिन्न कम्पनीका ग्याँसका सिलिन्डर बरामद गर्यो ।

चिया पसल सञ्चालक भरत कार्कीलाई समेत पक्रेर केरकार गर्दा भारतीय ग्याँस बुलेटले उनको चिया पसलमा बुलेटबाट सिधै सिलिन्डर भरिदिने गरेको तथ्य थाहा भयो । यसका लागि एउटा घरेलु उपकरणसमेत बुलेटवालाले बनाएको रहेछ । पाइप जोडेर बनाइएको उक्त फलामे उपकरण बुलेटको ‘खतरा’ लेखिएको बक्समा टाँसेर सिलिन्डरमा जोडेपछि ग्याँस भरिने रहेछ ।

‘नियमित रुपमा यस्ता घटनाहरु हुनेगरेको रहेछ’, प्रहरी निरीक्षक प्रकाश थापाले भन्नुभयो–‘ग्याँसका बुलेटहरु रोकेर असुरक्षित ढंगले ग्याँस झिक्ने गरिएको छ भन्ने कुरा स्थानीय बासिन्दाले जानकारी गराएपछि हामीले एक्सन लिएका हौँ ।’

उहाँका अनुसार त्यसरी ग्याँस चोरेर सिलिन्डर भर्ने दुईवटा भारतीय बुलेट र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ । धादिङस्थित क्याप्सन ग्याँस उद्योग र पोखरास्थित शक्ति ग्याँस उद्योगमा लैजाने क्रममा रहेका बुलेटहरु कार्कीको चियापसल अघि रोकिएपछि प्रहरीले समातेको हो ।

पक्राउ परेकाहरुलाई चोरी कसुरसम्बन्धी मुद्दा चलाउने गरी बुधवार म्याद थप गरिएको छ । ग्याँस चोरी गरी अन्यत्र समेत बेच्ने गरेका अन्य बुलेटहरुबारे पनि मसिनो अध्ययन थालिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । ‘सम्बन्धित कम्पनीमा नपुर्याई बाटैमा ग्याँस चोर्ने गिरोह नै सक्रिय रहेको संकेत मिलेको छ’, उहाँले भन्नुभयो ।

टिप्पणीहरू