​बोलीमा हैन, काममा विश्वास

आमनेपालीले अपेक्षा गरेझैं बलियो जमसमर्थन र उच्च शासकीय शक्तिसहितको सरकार प्राप्त भएको छ । तर, कतै यो सरकार पनि विगतका असफल र जनभावनाको सम्बोधन गर्न नसक्ने गरी डामिएका सरकारजस्तै पो हुने हो कि भन्ने चिन्ता पनि व्याप्त छ । हालका प्रधानमन्त्री अनेकौं दबाबबाट मुक्त रहुन् अनि आफूलाई राष्ट्र र जनताको सेवामा एकसूत्रीय ढंगले समर्पित गर्न सकुन् भन्ने चाहना जनताले राखेका छन् ।

तथापि, मन्त्रिमण्डलको विस्तार र संकुचित पारिएका मन्त्रालयको पुनर्विभाजनका लागि जसरी केपी ओलीले दबाब व्यहोरे त्यसले जनतालाई खुशी तुल्याएको छैन । प्रधानमन्त्री मात्र होइन कि हाम्रा सबै मन्त्रीले आफूलाई एउटा उच्च तहको र जनसेवा मात्रमा समर्पित रहने प्रमाणित गरुन् भन्ने माग सबैले राख्न थालेका छन् । केपी ओलीको नेतृत्वमा रहेको क्याबिनेटका सबै सदस्य उनीझैं शुद्ध आचरण, व्यवहार र नैतिकताको कसीमा उत्रन प्रतिबद्धता व्यक्त गर्ने स्थितिमा छन् ? संकेत हेर्दा त्यस्तो देखिँदैन ।

फेरि पनि सिंहदरबार र मन्त्रालयमा दलालहरू पुरानै शैलीमा सल्बलाइरहेको स्पष्ट देख्न सकिन्छ । भ्रष्ट कर्मचारीको दूषित घेराबाट बाहिर निस्केर सत्यतथ्य र यथार्थ बुझ्न सक्ने क्षमता सबै मन्त्रीमा छ भन्न सकिने अवस्था छैन । त्यसैले निरन्तर खबरदारीको जरुरत छ । नेताहरूले विगतदेखि बोकेका कतिपय खराब संस्कार, चिन्तन तथा शैलीलाई त्यत्तिकै फाल्न नसक्लान्, आफूलाई नयाँ सोचअनुरूप चलाउन नजान्लान् त्यसैले एउटा मार्गनिर्देशनको पनि आवश्यकता पर्न सक्छ । र, त्यो जिम्मेवारी सचेत नागरिकमा आएको छ । लामो समयदेखि राजनीतिक स्थिरता पर्खी बसेका नेपालीलाई अब स्थायी र शक्तिशाली सरकारबाट विकासको बाढी आएको हेर्न मन छ ।

केही समयसम्म पनि त्यसतर्फ सरकारले ठोस योजना बनाउन सकेन र जनताले नयाँ सरकार आएको अनुभूत गर्न सकेनन् भने निराशा उत्पन्न हुन सक्छ । यदि, सरकारलाई मतदानबाहेक थप केही सहयोग चाहिन्छ भने त्यसका लागि पनि जनता तयार छन् । त्यसैले सरकार नसुतोस् । विगतका सरकारझैं टन्न खाएर छ महिना सुत्ने कुम्भकर्णझैं बन्ने छुट नयाँ सरकारलाई दिन जनता तयार छैनन् । हालै प्रधानमन्त्रीले सेनाका हाकिमहरूलाई ब्रिफिङ गर्दा तथा अन्य सार्वजनिक सभामा आफ्नो विचार राख्दा भनेजस्तो परिवर्तनको चाहनालाई अवमूल्यन गर्ने, विकास र समृद्धिलाई पछि पार्ने छुट कसैलाई छैन । बोलीमा होइन, काममा मात्र विश्वास गरिन्छ । यो कुरा नयाँ नेपालको नयाँ शासकले बुझ्नु जरुरी छ ।

टिप्पणीहरू