​युनियनको सुझाव

युरोपियन युनियनले सरकारलाई एउटा सुझाव के दिएको थियो, पूरा देशै आक्रोशित भएको छ । भनियो, सरकारलाई सुझाव दिने काम युरोपियन युनियनको होइन । युरोपियन युनियन भनेको दातृ निकाय हो । दातृ निकायको काम पैसा दिने हो । सुझाव दिने होइन । हामीलाई यतिबेला सुझावको कुनै आवश्यकता पनि छैन । पैसाको खाँचो छ । किनभने यतिबेला हामी पूरा समृद्धिका लागि अघि बढ्दै छौँ । जो समृद्धिको दिशामा अघि बढिरहेको हुन्छ उसलाई सुझाव होइन, पैसाको आवश्यकता  पर्छ ।

युरोपियन युनियनले हामीलाई आजसम्म दिँदै आएको पनि पैसा नै हो । हामीले त्यसलाई सहजै ग्रहण ग¥यौँ । युरोपियन युनियनले दिएको पैसा आजसम्म कहिल्यै अस्वीकार गरेनौँ । तर, पैसा दिनुपर्ने निकायले एकाएक पैसा छाडेर सुझाव दिन थालेपछि अप्ठ्यारो महसुस भएको छ । त्यसैले हामी यसलाई अस्वीकार गर्दछौँ । 

युरोपियन युनियनको काम हामीलाई पैसा दिने हो । अतः पैसा दिनोस्– हामी स्वीकार्छौं । अन्य कुरा दिए स्विकार्न बाध्य छैनौँ । किन स्विकार्ने ? पैसा दिनुपर्ने निकायले पैसै मात्र दिए त भइहाल्यो नि, किन अर्थोक दिनुप¥यो ? हामीलाई त्यो स्वीकार्य छैन । कदापि छैन ।  

टिप्पणीहरू