असली महामन्त्री

जस्तो कि संसारलाई थाहा भइसक्यो, अहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा भयंकर रडाको मच्चिरहेको छ । तर, यति ठूलो बबाल हुँदा पनि पार्टीका महामन्त्री डा. शशांक कोइराला भने चुपचाप । उहाँको मौनता हेर्दा यस्तो लाग्छ कि अहिले कांग्रेसमा केही भइरहेकै छैन । कांग्रेसमा केही भइरहेको छैन वा भइरहे पनि पार्टीको महामन्त्रीलाई त्यसको जानकारी छैन ? यो यसै भन्न सकिने स्थिति छैन ।

डा. शशांक कोइराला शुरुमा महामन्त्री चुनिनु हुँदा खुब बोल्नुहुन्थ्यो । उहाँ बोलेको देख्दा कांग्रेस कार्यकर्ता छक्क पर्थे । किनभने त्योभन्दा पहिले उहाँले बोलेको त्यति सुनिएको थिएन । अहिलेचाहिँ उहाँ चुप लागेको देखेर कार्यकर्ता छक्क परिरहेका छन् । किनभने उहाँ अहिले जति मौन बस्नुभएको पहिले कहिल्यै देखिएको थिएन । 

एउटै नेता कुनै बेला कराएको करायै गर्ने, कुनै बेला चुप भएको भयै हुने पनि कहीं हुन सक्छ ? यसले त कार्यकर्तामा एउटा भ्रम उत्पन्न भएको छ– आखिर कांग्रेसको असली महामन्त्री को हुनुहुन्छ ? बोलिरहने डा. शशांक कि चुप लागिरहने डा. शशांक ?

टिप्पणीहरू