मिडियाले गर्न मिल्छ यस्तो मनपरी ?

काठमाडौंको वर्गदृष्टि साप्ताहिकविरुद्ध चितवनबाट उजुरी परेको छ । कुनै व्यक्ति वा समूहको लगानी भए पनि मिडिया सार्वजनिक सम्पत्ति हो र यसले कसैलाई काखा–पाखा गर्न हुँदैन । नेपालको पत्रकार आचारसंहिता, २०७३ को परिच्छेद ३ ‘सामाजिक दायित्व’ अन्तर्गत बुँदा नं. ५.१ मा सञ्चारमाध्यमले भेदभाव हुने गरी सूचना सम्प्रेषण गर्न नहुने भनिएकै छ । त्यसमा ‘जातीय, लंैगिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक विचारधारा, वर्ण वा शारीरिक तथा मानसिक अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी सामग्री सम्प्रेषण गर्नु हुँदैन’ भनेर लेखिएको छ । 
 
केही दिनअघि भरतपुरमा भेटिएको उक्त साप्ताहिकको वर्ष २ अंक ३४ पूर्णांक ८३ (२०७४ फागुन १४, सोमबार) मा कुनै नेतालाई ‘तपाई’ कुनै नेतालाई ‘तिमी’को भाषामा प्रस्तुत गरेको पाइएपछि प्रेस काउन्सिल नेपालमा उजुरी परेको हो । ‘माओवादी केन्द्र एमालेमा विलय’ शीर्षकको मुख्य समाचारकै पहिलो अनुच्छेदमा ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारी निवास बालुवाटारमा सोमबार राति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रलाई एमालेमा विलय गराउने सातबुँदे सहमतिमा हस्ताक्षर गरे…’ भनिएको छ । तेस्रो अनुच्छेदमा चाहिँ .‘… क्रान्तिकारी माओवादीका महासचिव कमरेड किरणले माकेको एमालेमा विलयसँगै उसको माओवाद तथा वैज्ञानिक समाजवादसित सबै सम्बन्ध तोडिएको टिप्पणी गर्नुभएको छ…’ लेखिएको छ ।

सोही समाचारमा ‘नयाँ जनवादी क्रान्तिमार्फत मुलुकमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने प्रमुख लक्ष्य बोकी १० वर्ष लामो भएको जनयुद्धको प्रचण्डले नेतृत्व गरेका थिए…’ उल्लेख छ । यस्तै, गोपाल किराँती, लोकेन्द्र विष्ट, बाबुराम भट्टराईलाई पनि तिमीकै भाषामा ‘गरेका छन्’, ‘भनेका छन्’ भनेर लेखिएको छ । मोहन वैद्य, रामसिंह श्रीसलगायत नेकपा (क्रान्तिकारी माओवादी)का नेताहरूले चाहिँ ‘गर्नुभयो, जानकारी दिनुभयो’ भन्ने भाषामा ‘तपाईं’ सम्बोधन गरिएको छ, अरू समाचारमा पनि । 
 

त्यसका अन्य अंकमा समेत क्रान्तिकारी माओवादीका नेतालाई उच्च आदरार्थी शब्द र अरू पार्टीका नेतालाई त्योभन्दा मुनिको भाषा प्रयोग भइरहेको बुझ्न कठिन छैन । कुनै पनि सञ्चारमाध्यमले नेता हुन् या सर्वसाधारण– सबैलाई समान भाषा प्रयोग गर्नुपर्ने हो । तर, यहाँ त एउटा पार्टी र अर्काे पार्टीको नेता–नेताबीचमै असमान तथा भेदभावपूर्ण भाषा लेखिएको छ । समाचारपत्रका रूपमा प्रकाशन भएर पनि क्रान्तिकारी माओवादीको मुखपत्रजस्तै बनेको छ । यस सम्बन्धमा प्रेस काउन्सिलले कस्तो कारबाही गर्ने हो ? हेर्न बाँकी नै छ ।
 
– गोपाल परियार

टिप्पणीहरू