मुस्ताङमा हिमपात, बेनी जोमसोम सडकमा समस्या

मुस्ताङमा हिमपात, बेनी जोमसोम सडकमा समस्या

-अमृत बास्कुने

पछिल्लो तीन दिनदेखिको अविरल वर्षाले हिमालपारीको जिल्ला मुस्ताङका उच्च पहाडमा हिउँ परेको छ । बेनी जोमसोम सडक खण्डको विभिन्न स्थानमा अविरल वर्षाले समस्या भएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार घरपझोङ गाउँपालिकाको मार्फा खोला तथा म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भीरको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ ।

प्रजिअ पौडेलले भन्नुभयो, ‘प्रहरी, स्थानीय वासिन्दा र यातायात व्यवसायीहरुको समेत समन्वयमा सडकमा फसेका गाडीलाई गन्तव्यतर्फ पठाउने काम भएको छ । पूर्णअवरुद्ध चाँही होइन हिलोमा गाडी फस्ने समस्या भएको हुँदा काभ्रे गाउँमा गाडी तान्न जेसीबिलाई स्ट्याण्डबाई राखिएको छ ।’दुई दिनदेखि लगातार भै रहेको वर्षाको कारण चिसो बढ्नुका साथै हिउँ समेत परेको मुक्तिनाथका होटल अन्नपूर्ण इनका सञ्चालक अमृत सुवेदीको भनाइ छ ।

सुवेदीका अनुसार अहिलेको समय मौसम खुल्ला हुने तथा हिमश्रृङ्खलाहरुको अवलोकन गर्न मिल्ने मौसम हो तर वर्षासँगै हिमपात तथा बादलले ढाकेको अवस्थाले अप्ठेरो बनाएको छ ।

दशैं तिहारको बिदा मनाउन आएका आन्तरिक पर्यटकहरु समेत वर्षाको कारण सडकमा गाडी फस्दा गन्तव्यमा पुग्न नसकेर गाडीमै रात बिताउनु परेको सुवेदीले बताउनुभयो ।

मुस्ताङ जिल्ला कोरोना संक्रमितमुक्त भएको हुँदा पवित्र तीर्थस्थल मुक्तिनाथमा दैनिक सात सयभन्दा धेरै दर्शनार्थी पुग्ने गरेका थिए । तर अहिलेको अवस्थामा वर्षाले गर्दा सडकमा जोखिम हुँदा आन्तरिक पर्यटकहरु घट्न सक्ने मुस्ताङका होटल व्यवसायीको भनाइ छ । पानी कम पर्ने भनेर चिनिने मुस्ताङ जिल्लाभित्रका सडकहरु समेत अहिले हिलाम्य भएका छन् । सामान्यतयाः मंसिरदेखि चिसो बढ्ने भए पनि यस वर्षको लगातारको वर्षाले चिसो ह्वात्तै बढेको सुवेदीको अनुभव छ ।

सीमा प्रहरी चौकी लोमान्थाङका सई डोलराज भण्डारीका अनुसार पानी पर्न रोकिएको छैन भने विगतको तुलनामा चिसो बढेको छ ।

गत वर्षको असारमा लोमान्थाङ प्रहरी चौकीको इञ्चार्जका रुपमा पुगेका भण्डारीले भन्नुभयो, ‘गत वर्षको यो समयभन्दा अहिले चिसो निकै बढ्यो । उच्च क्षेत्रमा हिमपात भएको छ । चीनसँगको सीमानाका कोरला क्षेत्रमा पनि सामान्य हिमपात भएको छ ।’त्यस्तै बेनी–जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३, गलेश्वरमा हिलोसहितको लेदोले सडक अवरुद्ध हुँदा सवारी साधन आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर वीरेन्द्रराज गुरुङले बताउनुभयो ।

टिप्पणीहरू