​गुरु, साँझ–बिहान कतातिर खुरुखुरु ?

मुलुककै पुरानो विश्वविद्यालय कसरी ध्वस्त हुने बाटोमा छ भन्ने तथ्य हो यो । विश्व बैंकले तेरो विश्वविद्यालय खत्तम भयो, सुधार भनेर दिएको अनुदान योग्य र सक्षम नभई दलका झोले कार्यकर्ताको पोल्टामा पर्ने खतरा देखिँदै गएको छ । त्यही अनुदान पचाउने ध्येयले शक्तिकेन्द्र धाउन थालेका छन् एक जना लेक्चरर । 

मलाई प्राध्यापक बनाइदेऊ भन्दै कहिले बूढानीलकण्ठतिर पुग्छन् त कहिले बालुवाटारतिर । आरजु राणाहरूको लगानी रहेको नामी कलेजमा कार्यरत गुल्मीतिरका कांग्रेसी कार्यकर्तालाई बोकेर उनी बूढानीलकण्ठमा नेताको हातपाउ मोल्न पुग्छन् । र, त्यहाँबाट यो मान्छेलाई जसरी पनि ग्राण्ड पास गराइदिनू भन्दै त्रिवि सेवा आयोगका सदस्य प्राडा चिन्तामणि पोखरेललाई फोन जान्छ । त्यही मान्छेले एमालेका अर्काे वरिष्ठ नेतालाई समाएर सेवा आयोगका सदस्य सचिवलाई भनसुन गर्न भ्याउँछ । र, अध्यक्ष चैतन्य शर्मालाई फोन गर्न लगाउँछ ।

यसरी प्राध्यापक बन्न नेताको दैलो चाहार्ने गुल्मेली हुन् डा. भानुभक्त न्यौपाने । अमेरिकाको ग्रिनकार्ड होल्डर उनी ६ महिनाअघि त्रिविमा लेक्चरर नियुक्त भएका हुन् । नौ जना नेपाली विद्यार्थी मनी लण्डरिङ काण्डमा मुछिएका थिए । सो समय उनी ती विद्यार्थीको साक्षी बसे । अमेरिकास्थित फेडरल ब्युरो अफ इन्भेस्टिगेसनले खोजी गर्न थालेको सुइँको पाउनासाथ सन् २०१३ मा नेपाल फर्किए । लेक्चररको जागिर खाए । त्रिविको नाम बेचेर युएस एडबाट १ करोड ३५ लाखको प्रोजेक्ट ल्याई कलंकीस्थित काठमाडौं इन्स्टिच्युट अफ अप्लाइड साइन्समा लगानी गरेको प्रमाणसमेत जनआस्थाले फेला पारेको छ । यसरी त्रिविको नाम बेचेर विदेशी दातृ निकायसँग करोडौं ल्याई निजी इन्स्टिच्युटमा लगानी गर्न पाइन्छ ? यिनै मान्छे अहिले लेक्चररबाट एकैपटक प्राध्यापक पड्काउन नेताहरूको दैलो चहार्दै छन् । 

अनुदान आयोगले त्रिविलाई विश्वविद्यालयको गुणस्तर, शिक्षण र अनुसन्धानका लागि हरेक वर्ष सहप्राध्यापक र प्राध्यापकसहित २०÷२० जनाका दरले ६० जनाका लागि स्किम दिएको छ । जहाँ अहिलेका प्रोफेसरहरूको भन्दा २५ प्रतिशतसम्म बढी अर्थात् झण्डै ८० हजार तलब पाइने जनाइएको छ । रसायनशास्त्र विषयबाट एक जना मात्र छानिने उक्त अन्तर्वार्तामा ८ जना भिड्दै छन् । जहाँ भानुभक्त न्यौपानेसहित सन्तोषकुमार यादव, डा. निरञ्जन पराजुली, डा. अजय भट्टराई, डा. विमलकुमार कण्ठ, कोषप्रसाद न्यौपाने, वशिष्ठकुमार कण्ठ र डा. सूर्यकान्त कलौनी प्रतिस्पर्धामा छन् । यही बढी तलब पाइने आसमा ६ महिना अगाडि मात्र लेक्चरर भएका उनले प्राध्यापक बन्न शक्तिकेन्द्रको लबिङ थालेका छन् । 

– रविन्द्र आचार्य, ट्यांग्लाफाँट

टिप्पणीहरू