​बोरामा भेटिएको के हो र !

धार्मिक हिसाबले मात्रै होइन, आर्थिक रूपमा पनि धनी मानिएको बागेश्वरी मन्दिरको नाममा रहेका पुराना ढुकुटी खोलिएपछि नेपालगञ्जमा सबैको खुलदुली मेटिएको छ । मन्दिरको नाममा रहेका ती ढुकुटीभित्रको सम्पत्ति यकिन गर्न ४५ वर्ष लागेको छ, अघिल्लो बुधबार मात्रै उक्त ढुकुटी खोलिएको थियो । ढुकुटीभित्र धेरै संख्यामा सुन, चाँदीलगायत बहुमूल्य सम्पत्ति रहेको आकलन गरिएको भए पनि जीर्ण अवस्थामा रहेका बाकसमा भने २ तोला सुन र २० किलो ३ सय ४ ग्राम चाँदीका माला, देवीदेवतालाई ओढाउने छाला बाघ तथा लक्ष्मीका साना मूर्ति मात्रै भेटिए । यसका साथमा बाकसभित्र नयाँ बोरा, कोकाकोलाको कार्टुन र रिचार्ज कार्डसमेत भेटिएका छन् । खोलिएका बाकसमा आकलन गरिएभन्दा फरक सामान भेटिनुले सबैमा शंका–उपशंंका उब्जिएको छ ।

लामो समयदेखि मालपोत कार्यालयमा बेवारिसे अवस्थामा फालिएका दुईवटा बाकस सबैको रोहवरमा खोलिएको थियो । सानो–ठूलो गरी दुईवटा बाकसमध्ये ठूलोमा मन्दिरलाई दान गरिएको जग्गाको कागज पनि भेटिएको छ भने सानोमा केही गहना फेला परेको बागेश्वरी गुठी व्यवस्थापन समितिले जनाएको छ । यसअघि २०२९ सालमा बागेश्वरी मन्दिरको गहना यकिन गरिएको बुझिएको छ । करिब ५ दशकपछि ढुकुटी खोल्दा अभिलेखभन्दा कम सम्पत्ति भेटिएको अधिकारकर्मी बताउँछन् । 

बागेश्वरी मन्दिरको नाममा रहेको सम्पत्ति संरक्षण व्यवस्थापनको माग गर्दै अधिवक्ता लोकबहादुर शाह र बलबहादुर चन्दले पुनरावेदन अदालत नेपालगञ्जमा रिट दायर गरेका थिए । बाकस खोलेपछि भेटिएका र २०२९ सालको अभिलेखमा उल्लेख भएअनुसार सम्पत्ति विवरण अध्ययन भइरहेको बताइएको छ । ५ दशकअघिको अभिलेखमा योभन्दा बढी गहना उल्लेख भएको देखिन्छ । बागेश्वरी मन्दिरको २०२९ साल मंसिर ८ गतेको अभिलेखमा सिंहको मूर्ति बनेको डिब्बा चाँदी ८३ को थान २, खम्बा बनाइएको चाँदी तोला १२० को थान २, भैरव गरुड चाँदी तोला १६५ को थान २, करुवा चाँदी तोला ४७ को थान १, बत्ती बाल्ने पानस चाँदी तोला ४८ को थान १ बत्ती बाल्ने आरती तोला १३ को थान १, बाघको मूर्ति चाँदी तोला २३ को थान २ गहना रहेको उल्लेख छ । तर, बुधबार खोलिएको बाकसमा २ तोला सुन र २० किलो ३ सय ४ ग्राम चाँदीका माला मात्र भेटिनुले सम्पत्ति अनियमितता भएको बताइन्छ । 

४५ वर्ष अवधिमा गहना बढ्नुपर्नेमा घटेपछि चोरीको शंका गरिएको छ । मालपोत कार्यालयमा अलपत्र मन्दिरको ढुकुटी ५ दशकमा खोलिएपछि सर्वसाधारणको चासो मेटिए पनि अनियमितताको शंका बढेर गएको हो । उच्च अदालत बार नेपालगञ्ज इजलासको आदेशमा बागेश्वरी गुठी व्यवस्थापन समितिले ढुकुटी खोलेको थियो । धर्मसँग जोडिएको विषयमा सबैले हेक्का राख्न जरुरी छ ।

– नमस्कार शाह

टिप्पणीहरू