लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुध्द

लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुध्द

बेमौसमको लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुध्द भएको छ । राकम कर्णाली–जितेगडा खण्डको दुई स्थानमा पहिरो झरेपछि राजमार्ग अवरुध्द भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दैलेखको घट्टेखोला र खिड्कीज्यूलामा पनि पहिरो गएको छ । पहिरो गएपछि सबेरैदेखि राजमार्ग अवरुध्द भएको हो । त्यसपछि सुर्खेततर्फ आउने र सुर्खेतबाट गएका सवारी साधन सबै रोकिएका छन् । सडक सुचारुको प्रयास गरिएको प्रहरीले जनाएको छ ।

उता तिला नदीमा आएको बाढीले पानी घट्ट र झोलुङ्गे पुल बगाएको छ । तातोपानी गाउँपालिका ८ टोप्ला घट्टेखोलामा रहेको घट्टेखोला लघु जलविद्युतको जलविद्युत गृह नजिकैको पानी घट्ट र पुल बाढीले बगाएको हो ।

वर्षापछि आएको पहिरोको कारण मुगु र दैलेख जाने सडक समेत अवरुद्ध भएको छ । नाग्म–गमगढी सडक खण्डको जुम्लास्थित हिमा गाउँपालिका–१, बड्कीमा पहिरो गएपछि मुगु सडक अवरुध्द भएको हो । बड्कीमा सडकभन्दा २० मीटर माथिबाट पहिरो खसेको बताइन्छ ।

टिप्पणीहरू