देउवाको ट्रम्प शैलीले काँग्रेस महाधिवेशन अनिश्चित : रामचन्द्र पौडेल

देउवाको ट्रम्प शैलीले काँग्रेस महाधिवेशन अनिश्चित : रामचन्द्र पौडेल

-शंकर श्रेष्ठ

कोही कसैले चाहँदैमा अहिले निर्वाचन हुने सम्भावना नरहेको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । उनले संविधानतः चाहेर पनि निर्वाचन गर्न नपाइने भनी प्रष्ट पारेका हुन् ।

‘संविधानअनुसार संसद विघटन गर्नै पाईंदैन,बुझ्दाबुझ्दै जान्दाजान्दै विभिन्न मिति तोकेर चुनाव गराउँछु भन्ने को हो ? कसरी भन्न पाइन्छ ?,’ आक्रोशित हुँदै पौडेलले भने, ‘यो हुनै सक्दैन, तत्काल चुनाव सम्भव छैन ।’ काँग्रेसको महाधिवेशन अगाडि देशमा कुनै पनि निर्वाचन सम्भव नरहेको पनि उनले बताए ।

सत्तामा बसिरहनु पर्ने सभापति शेरबहादुर देउवाको ‘ट्रम्प मनोवृत्ति’ ले काँग्रेसको महाधिवेशन अनिश्चित बनेको पौडेलको आरोप छ । चार वर्षे कार्यकाल सकिँदा पनि महाधिवेशन नगराउनु देउवाले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सिको गरेर सत्ता छाड्न नचाहेको पौडेलको भनाइ छ । ‘एकपटक सत्तामा पुगेपछि त्यो सत्ता जिन्दगीभरका लागि हो भनेजस्तो गर्ने ट्रम्प मनोवृत्तिले गर्दा पार्टीभित्र समस्या उत्पन्न भएको छ,’ उनले भने ।

‘केपी ओलीको दुस्साहसबाट देश बचाएर हाम्रा सभापतिलाई प्रधानमन्त्री बनायौं, तर अहिलेसम्म हाम्रै सभापतिबाट पनि त्यहि प्रवृत्ति दोहोरिने हो कि भन्ने आशंका छ”

सत्तामा पुगेपछि कुर्सी नछाड्ने, छोड्न परे कुर्सी नै भाँचिदिने केपी ओलीकै प्रवृत्ति देउवाले पनि दोहोर्याउन खोजेको पौडेलको आरोप छ । ‘केपी ओलीको दुस्साहसबाट देश बचाएर हाम्रा सभापतिलाई प्रधानमन्त्री बनायौं,तर अहिलेसम्म हाम्रै सभापतिबाट पनि त्यहि प्रवृत्ति दोहोरिने हो कि भन्ने आशंका छ, हामीले विश्वास गर्न सकेका छैनौं,’ उनले भने । काँग्रेसको पहिलो काम महाधिवेशन सम्पन्न गरी पार्टीलाई वैधानिक संकटबाट जोगाउनु रहेको उनले उल्लेख गरेका छन् । काँग्रेसमा पुस्तान्तरणभन्दा पनि रुपान्तरणको खाँचो रहेको पौडेलको धारणा छ ।

‘संविधानअनुसार संसद विघटन गर्नै पाईंदैन,बुझ्दाबुझ्दै जान्दाजान्दै विभिन्न मिति तोकेर चुनाव गराउँछु भन्ने को हो ? कसरी भन्न पाइन्छ ?,’ आक्रोशित हुँदै पौडेलले भने, ‘यो हुनै सक्दैन, तत्काल चुनाव सम्भव छैन ।’

मातृशोकमा रहेका नेपाली काँग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई भेट्न नेता पौडेल र महामन्त्री सशांक कोइराला आज दिउँसो धादिङ पुगेका हुन् । सोही अवसरमा पत्रकारहरुसँग भेट गर्दै महामन्त्री कोइरालाले चुनावअघि नै काँग्रेसले महाधिवेशन सम्पन्न गरिसक्ने बताएका छन् । ‘महाधिवेशनको संघारमा छौं, चुनाव हुने सम्भावना पनि छ, तर महाधिवेशन अघि चुनावको सम्भावना छैन’ कोइरालाले ढुक्क भएर भने ।

टिप्पणीहरू