पत्नीसाथ हेलिकोप्टरमा सवार हुने मुख्यमन्त्री विपद्मा बेपत्ता’

पत्नीसाथ हेलिकोप्टरमा सवार हुने मुख्यमन्त्री विपद्मा बेपत्ता’

तीन दिनदेखिको अविरल वर्षापछि कालीकोटमा गएको पहिरोले सोमबार राति घर भत्किँदा महाबै गाउँपालिका–७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ । उनीसँगै सुतेकी १५ वर्षीया बहिनी इशानी घाइते भएकी छन् । विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी जेठी छोरी स्मृतिको घटनास्थलमै मृत्यु भएको हो । घाइते इशानीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पहिरोले सोही गाउँका अन्य पाँच वटा घर पनि भत्किएका छन् । २५ वटा घर जोखिममा छन् । जोखिममा रहेका २५ घर परिवारलाई हिजो सोमबार मध्यरात स्थानीय राम मावि राम्नी र स्वास्थ्य चौकीको भवनमा सारिएको प्रहरीले जनाएको छ । सोमबार राति नै पादमघाट प्रहरी चौकी र सदरमुकाम मान्मबाट प्रहरी टोली घटनास्थल गएको छ । त्यहाँको गाउँ नै पहिरोको जोखिममा रहेको स्थानीयले बताए ।

सदरमुकामकै १३ घर जोखिममा

पहिरोले कालिकोटको सदरमुकाम मान्मका १३ वटा घर जोखिममा परेका छन् । अविरल वर्षाकै कारण खाँडाचक्र नगरपालिका–१ मान्म बजारस्थित एलना मेडिकल हल पछाडिको पर्खाल भत्किँदा औषधि पसलमा क्षति पुगेको छ । मान्म बजारको नाव गैराका १३ वटा घरसमेत जोखिममा रहेको प्रहरीले जनाएको छ ।

‘गाउँपालिकाको भवन उद्घाटन गर्न हेलिकोप्टरको प्रयोग गर्ने मुख्यमन्त्री कता छन् ? के निर्देशन दिए ? राहत तथा उध्दारका लागि के गरे?”

ताडीबाट मान्म बजार आउने साकालामा ढुंगा नजिकै पुरानो बाटोमा पहिरो जाँदा आवागमन नै रोकिएको छ । त्यस्तै,वर्षाले कर्णाली नदीमा बाढी आउँदा कर्णाली करिडोर जोड्न जितेस्थित कर्णाली नदीमा रहेको फेरि बगाएको छ । फेरि बगाएपछि कर्णाली करिडोरमा सवारी साधन गुडाउन समस्या भएको छ ।

कर्णाली राजमार्ग अवरुध्द

अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकको ठाउँ–ठाउँमा पहिरो गएपछि राजमार्ग अवरुध्द भएको छ । राजमार्गको दैलेख पाल्ताडा, राकम,घट्टेखोला,दैखोला, कालीकोटको गगने,सेरि, सुनारखोला,मोल्फा,पिली सेरावाडालगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको छ ।

बेखबर झैं प्रदेश सरकार

प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलगायत सुदूरपश्चिमका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी,पहिरो र डुबानबाट प्रभावितलाई तत्काल राहत तथा उध्दारको व्यवस्था गर्न एकाबिहानै गृहमन्त्रीलाई निर्देशन दिएपछि गृह प्रशासन पनि राहत तथा उध्दारमा खटिसकेको छ । तर,कर्णाली सरकार यतिबेला के गरिरहेको छ ? कहाँ छ ? अत्तोपत्तो छैन ।

कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीकै गृह जिल्ला कालिकोटमा बाढी पहिरोले क्षति गरिरहेको छ । मृत्यु हुने,घाइते हुने,विस्थापित हुने अथवा पीडामा पर्ने अधिकांश मुख्यमन्त्रीकै मतदाता हुन् ।

यस्तो बेलामा पनि कर्णाली सरकार कानमा तेल हालेर बसेको स्थानीयको आरोप छ । ‘गाउँपालिकाको भवन उद्घाटन गर्न हेलिकोप्टरको प्रयोग गर्ने मुख्यमन्त्री कता छन् ? के निर्देशन दिए ? राहत तथा उध्दारका लागि के गरे ?,’ उनीहरुले प्रश्न गरेका छन् । गृह प्रशासनबाट प्रधानमन्त्रीले सम्पूर्ण निकायलाई राहत तथा उद्धारमा खटिन निर्देशन दिइसक्दा पनि कर्णाली सरकार र मुख्यमन्त्री शाही भने निरीह बनेको बताइन्छ ।
पत्नीलाई लिएर जन्मस्थान भ्रमण गर्न र गाउँपालिकाको भवन उद्घाटन गर्न हेलिकप्टर लिएर गएको विषयलाई अहिलेको विपद्सँग जोडेर चर्चा गर्न थालिएको छ । सामाजिक सञ्जालमा, ‘कुनै गाउँसभामा जान र नेता कार्यकर्तासमेत भेट्न हेलिकोप्टरको प्रयोग गर्ने मुख्यमन्त्री अहिलेको विपद्मा उनको हेलिकोप्टर कता छ ? अत्तोपत्तो छैन ।’ भनेर लेखिएको छ ।

मुख्यमन्त्री र उनी नेतृत्वको सरकार निरीह बनेको कालीकोट विपद्मा मात्रै होइन,मुगु बस दुर्घटनामा पनि उस्तै थियो । पहिरोबाट पूरै गाउँ जोखिममा पर्दा राहत तथा उध्दारका लागि कर्णाली सरकारबाट कुनै पहल नभएपछि उनको आलोचना भएको हो ।

टिप्पणीहरू