​बुद्धको छेउमा शिवको ‘फोहोर’ ?

गाईको विषयमा देशमा सामाजिक सद्भाव खल्बलिएर धार्मिक द्वन्द्वको खतरा बढिरहेका बेला भरतपुरमा पनि धर्मकै नाउँमा लफडा भएको छ । ‘हिन्दूको शिव मन्दिरअगाडि फोहोर हुन्छ भने हाम्रो गुम्बाअगाडि फोहोर हुँदैन ?’ भन्दै थिइन्, देछेन थार्वालिङ बौद्ध गुम्बाकी विरुमाया लामा । गुम्बाको तर्फबाट गत बुधबार एउटा प्रतिनिधिमण्डल जिल्ला वन कार्यालय गएको थियो ।

भरतपुर–१ स्थित रोड छेवैको ऐलानी जग्गामा १५÷१६ वर्षदेखि बसोबास गर्दै आएका दुई घर परिवारलाई देवघाट क्षेत्र विकास समिति, सतनचुली सामुदायिक वन, इलाका वन कार्यालयलगायत मिलेर हटाइ अलि पर गुम्बाको आडैमा राखिदिए । देवघाट जाने बाटोको मुखमा थोत्रो घर र सरसफाइ पनि नभएको ‘फोहोर’ भन्दै चेपाङ परिवारलाई देछेन थार्वालिङको पुरानो गुम्बाको छेवैमा सारिएपछि विवाद बढेको हो । हिन्दू धर्मावलम्बीले बौद्ध धर्मलाई हेपेको तथा अतिक्रमण गरेको गुम्बाका सचिव भिक्षु डिबी लामाको भनाइ छ ।

त्यसको विरोध एवं थप बस्ती आउन सक्ने चिन्ताले पुरानो र पछि बनाइएको गुम्बा भवनबीचको क्षेत्रमा गुम्बाको तर्फबाट पनि ६÷७ वटा टहरा ठड्याइयो, जप गर्ने ठाउँ भन्दै काठ, टिन आदिले बारेर । जंगलको जग्गामा जथाभावी भौतिक संरचना किन निर्माण गरेको ? तत्काल नहटाए भोलि नै डोजर ल्याएर भत्काउने चेतावनी वन कार्यालयले दिएपछि उनीहरू छलफलका लागि पुगेका थिए । सहायक वन अधिकृत कृष्णप्रसाद पौडेलसँग निकैबेर चर्काचर्की चल्यो ।

०३७ सालदेखि रहेको गुम्बाको पाँच बिघा जमिन अतिक्रमण गरिनु सरासर बौद्ध धर्ममाथि अन्याय भएको गुम्बाका गुरु मानिने डिबीले बताए । सहायक वन अधिकृतले ‘कहाँ लेखिएको छ पाँच बिघा ?’ भनेर सोध्दा उनले भने, ‘संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा । यो ०५२ सालमा दर्ता भएको हो, दर्ता नं. १०, त्यतिबेला नेपाल अधिराज्यभर जम्मा १० वटा गुम्बा दर्ता भएका थिए, जबकि अहिले चार हजार बढी पुगिसकेको छ ।’ डोजर ल्याएर गुम्बै भत्काउने पनि सतनचुलीका मान्छेले भनेको सुनेको डिबीले बताउँदा कृष्णप्रसादको भनाइ थियो, ‘यदि गुम्बाले यहाँ बसेर अनधिकृत रूपमा मान्छेको बस्ती बसाउन, गलत काम गर्न थाल्यो भने उस्तै परे गुम्बा पनि हट्न सक्छ । त्यो हिसाबले भन्न सक्छन् है !’

०३७ सालदेखि गुम्बाले आफ्नो मानेको ठाउँमा त्यसरी बस्ती ल्याएर राखिएको, त्यही क्षेत्रमा पौडेल बन्धुहरूका लागि तीन बिघा जमिन दिइएको, न्यौपानेको कुल मन्दिरका लागि पनि जग्गा दिइएको बताउँदै डिबी भन्छन्, ‘केही वर्षअघि स्थानीय विकास अधिकारी पाण्डे हुँदा गुम्बा भवननजिक सुकेको रूख भएको ठाउँमा पाण्डेहरूको पनि कुल मन्दिर बनाउन शिलान्यास गरी तारबार गर्न खोजिएको थियो, हामीले दिएनौं ।’ वन क्षेत्रभित्र कंक्रिटका संरचना निर्माण तथा तारबार गर्न हुँदैन भनिए पनि पौडेलहरूले पार्कको रूपमा सिमेन्टेड बेञ्च बनाई तारबारसमेत गरेको उनले देखाए । आफूहरूले तारबार गर्न खोज्दा झडप भएको तर पौडल कुललाई केही नगरेको उनको भनाइ थियो । देवघाट क्षेत्र विकास समितिले अन्य मठमन्दिर, कुल मन्दिरलाई बर्सेनि बजेट दिँदै आए पनि गुम्बालाई अहिलेसम्म एक पैसा नदिएको बताइन्छ । ‘गुम्बाको अस्तित्वमा आँच आउने गरी बार भत्काएर जुन किसिमले घर ठड्याइँदै छ, यसलाई कसरी मूल्यांकन गर्ने ?’ भन्दै आफूहरूलाई सोधपुछै नगरी किल्ला गाडेको डिबीले बताए ।

‘ती घर टोपी फुकालेझैं टपक्क टिपेर ल्याई राखेको होइन होला ? त्यतिबेला किन कुरा गर्नुभएन ? के गुम्बामा कोही बस्दैनन्, गुम्बाको ढोका सधैं बन्द हुन्छ ?’, पौडेलको यो प्रश्नमा डिबीको जवाफ थियो, ‘पुस २५ गते विश्वशान्ति पूजामा व्यस्त थियौं हामी । ल्याएर राखिसकेपछि बेलुकी मात्रै थाहा पायौं । शिवालय अगाडिबाट फोहोर भनेर जसरी उठाई ल्यायो, त्यो त हामीले गर्न मिलेन, हामीमा पनि मानवीयता छ । व्यवस्थित तरिकाले अन्यत्रै बसाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ 

‘सामुदायिक वन, इलाका वन, देवघाट क्षेत्र विकास समिति, वडा प्रतिनिधिसहित बसेर अब यसलाई कसरी निकास दिने भन्नेतर्फ जानुस्’, सहायक वन अधिकृतले भने, ‘तपाईंंहरूले भनेको पनि ठीकै हो । तपाईंंहरूलाई माछामासु, जाँडरक्सी चल्दैन तर ऊ मजदुर मान्छे खान्छ, काम गर्छ, अगाडि फोहोर हुँदा तपाईंंहरूको पनि चित्त नबुझ्नु स्वाभाविक हो । यसलाई ठाडो ठाडो भएर होइन कि मिलेर समाधान गर्नुस् !’ 
कृष्णप्रसाद पौडेल स्वयं निरीक्षणका लागि गए । गुम्बाको तर्फबाट बनाइएका टहरा हटाउनैपर्ने र त्यसका लागि एक हप्ताको समय दिइने बताउँदै उनले ‘यो जग्गा कसैले हडप्छ भन्ने लाग्छ भने फूल ल्याएर वृक्षरोपण गर्नुस्, हरियाली बनाउनुस्’ भने ।

त्यहीँ पुगेका देवघाट क्षेत्र विकासको अनुगमन तथा मूल्याङ्कन समिति अध्यक्ष विष्णुप्रसाद सापकोटाले पनि गुम्बा पक्षलाई यसो भने, ‘तपाईंंहरूले बनाउनुभयो, भोलि अरुले पनि बनाउन सक्छन्, किनकि यो विश्व सबै मानवको हो । अरु आउनुभन्दा हामी नै गर्छांै भन्ने तपाईंंहरूको सोच हो । तर त्यसो गर्न मिल्दैन । अपमान गर्न नपरोस्, मुद्दा पनि लाग्न सक्छ । साधना गर्ने कि मुद्दा खेप्ने ?’ रोडनेरबाट ल्याएर राखिएका घर हटाउनुपर्ने माग दोहो¥याउँदै गुम्बा पक्ष आफूले बनाएको टहरा हटाउन सहमत भएको छ । वन कार्यालयको तर्फबाट यो अस्थायी बसोबास भएको भन्दै अन्यत्र ठाउँ मिले स्थानान्तरण गरिने बताइएको छ । त्यसो त त्यहीँ वरपर दशकौंदेखि बसोबास गर्दै आएका अरु पनि सुकुम्वासी परिवार छन् ।

दैनिक मजदुरी गरेर खाने श्यामबहादुर चेपाङ, राजकुमार प्रजा र उनका दाइ राम प्रजाको गरी तीनवटा घर अहिले त्यहाँ बन्दैछ । ‘गाँस त जताबाट पनि खोजेर खाउँला, बास त चाहियो नि !’ भन्दै थिए, श्याम । रोड छेउमा अरु मानिस पनि ऐलानी जग्गामा बसिरहेको बताइन्छ तर पहुँचविहीन भएकैले उनीहरूलाईचाहिँ त्यहाँबाट हटाइएको देखिन्छ ।

– अजय गोर्खाली

टिप्पणीहरू