​कता हराउँछन् होला कमरेड

सरकार एमालेको छ, त्यही पार्टीका अध्यक्ष केपी ओली प्रधानमन्त्री छन् । लाग्दो हो, बलेको आगो ताप्नेहरुको लर्को धुम्बाराहीमा निक्कै बढेको छ । तर, यो अनुमान ठाडै गलत हुनेछ । किनभने, हिजोआज सबैभन्दा ठूलो दल एमाले मुख्यालय बेहुली अन्माएपछिको आँगनजस्तो सुनसान छ ।

त्यहाँ लाग्ने भीड सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा यसरी सरेको छ कि, उभिने ठाउँसमेत पाउन मुस्किल । त्यसमाथि प्रधानमन्त्रीको स्वकीय सचिवालय बनाउन मन्त्रिपरिषद् गठनभन्दा ठूलो हम्मे छ । भएका पिएलाई चारित्रिक कारणले सँगै नहिँड्न भनिएको छ । पुराना पिएहरु पनि दलको कार्यालयतिरै थन्किएका छन् । भएजति सांसद मन्त्री बन्न बिहानभरि नेताकहाँ, दिनभरि दलको कार्यालयमा हुन्छन् ।

एकछिन धुम्बाराहीको कुरा गरौँ । केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ अध्यक्षका विश्वासिला । विश्वासिलाहरु बालुवाटारमा देखिनुपर्ने, तर कृष्णगोपाल देखिँदैनन् । काठमाडौं ९ बाट जितेका सांसद । गाडी पार्टी अफिसकै । दिनमा एकचोटि पुग्छन् पनि । बालुवाटारमा राजनीतिक सल्लाहकार नियुक्त भएका विष्णु रिमाल, प्रम सचिवालयमा औपचारिक जिम्मेवारी नपाइसकेका (पाउने सूचीका) डा. राजन भट्टराई, देवराज घिमिरेहरूको आवत–जावत बाक्लो छ । महान्यायाधिवक्ता भएकाले पनि अग्नी खरेलको बाक्लो उपस्थिति हुने नै भयो । यता पार्टी कार्यालय चलाउने कुरा आर्थिकसँग जोडिन्छ । आर्थिक विभाग प्रमुख विष्णु रिमालले पार्टीको काम गर्न नभ्याउने !

कार्यालय सचिव कृष्णगोपाल कार्यालय पुग्छन्, तर न कोही कार्यकर्ता भेट हुन्छन्, न त कर्मचारी । भएका कर्मचारी पनि हाजिर गरेर तितरबितर हुने । उपसचिव थिइन्, मीना ज्ञवाली । समानुपातिकतर्फ ३ को प्रदेशसभा सदस्य भएपछि कार्यालयमा बिरलै भेटिन्छिन् । एमालेनिकट कानुन व्यवसायीहरुको संगठन पिपिएलएका अध्यक्ष रुद्र नेपालकी पत्नी हुन्, कोटेश्वरतिरआबद्ध । सधैँ पार्टी कार्यालयमा पुग्ने र काम पनि फुर्तिफार्तीका साथ गर्ने ड्राइभर थिए रोशन बस्नेत । दुई महिना भयो, सवारी दुर्घटनामा निधन भएको । चन्द्रदेव पासवान एकजना त्यस्ता कर्मचारी हुन्, जो कार्यालय खुलेदेखि बन्द नभएसम्म टेलिफोन उठाएर गेटमै बस्छन् । लेखा शाखा प्रमुख खेम पौडेल, कम्प्युटरका खड्ग बस्नेत, स्टोरका आरसी बोहोरा दिनहुँ पुग्छन् । तर, काम नभएपछि के गरी बसुन् ? आठजना स्टाफमध्ये स्टोरमा आरसी बोहोरा, सहायक लेखापाल शान्ति श्रेष्ठ, सरसफाईका विनोद नेपाली, कार्यालय सहयोगी कुमार, आइटीका खगेन्द्र श्रेष्ठ, सामाजिक सञ्जाल चलाउने प्रेम गुरागाइँ, संगठन विभागमा विवरण अध्यावधिक गर्ने रिना नेपालीहरु दिनमा एकचोटि पुग्छन्, थम्ब मेसिनमा औँलो घुसारेर हाजिर गर्छन् । त्यसपछि काम हुँदैन, बाटो लाग्छन् !

एमाले कार्यालयको यस्तो सन्नाटाका कारण प्रत्यक्ष घाटामा परेको छ, मखमली श्रेष्ठको ए वन क्याफे । रामेछाप, खाँडादेवी गाउँपालिका उपाध्यक्ष मखमलीले चलाएको उक्त क्याफेबाट पार्टी कार्यालयमा दैनिक ८–१० हजारको प्याकिङ खाजा र खाना पुग्थ्यो । चुनाव र बैठकका बेला त लाख–लाखका अर्डर हुन्थे । पार्टी अफिसले महिनामा ५ देखि १० लाखसम्म उनकै क्याफेलाई तिथ्र्यो । अहिले सुख्खा छ । त्यहाँबाट खाजा आउने कार्यक्रम परेको दिनमात्र हो । आजकल पार्टी अफिसमा मान्छे नै पुग्दैनन्, कार्यक्रम त परैको कुरा । चुनावमा क्याफेको खाजाले कर्मचारीहरुको मुख बिगारिसकेको छ । 

अब सिंहदरबारको कुरा गरौँ । प्रधानमन्त्री कार्यालयमा जो पायो त्यहीलाई छिर्न दिइँदैन । संसदीय दलको कार्यालयमा भएजति थुप्रिन्छन् । कोही कामले, धेरैजसो बिनाकामले । कतिसम्म भने राष्ट्रिय अनुसन्धानबाट एमाले कार्यालयको सुराकी गर्न खटिएकी खड्का थरकी युवती पनि दलकै कार्यालयमा दिनभर हुन्छिन् । त्यहीँ हुन्छन्, केपी ओलीको पिए नियुक्त भएका अनिश दाहाल पनि । उनलाई चाहिँ हल्का आरोप छ, महिलासँग सम्बन्धित । झापाली नेता देवेन्द्र दाहालका भाइ हुन् । केपीको अघिल्लो कार्यकालमा सल्लाहकार रहेका देवेन्द्रको सचिवालयमा पिए थिइन्, झापाकै ओली थरकी युवती । सोझी र भलाद्मी । तर, घरमा जहान–परिवार भएका अनिशले उनैमाथि आँखा लगाएका रहेछन् । मेची–महाकाली अभियानका बेला केपीकै अगाडि कुरा चल्यो । तर, मुख्य पिए राजेश बज्राचार्यहरुले अनिशको पहिल्यै घरजम भइसकेको बताएपछि केपी झस्किए ।

ती महिलाले अर्कैसँग विवाह गरिसकिन् । एग्रोसम्बन्धी काम गर्छिन् । तर, दिनभर सिंहदरबारतिरै हुन्छिन् । विहानै पतिले स्कुटरमा छाडिदिन्छन्, बेलुकी लिन पुग्छन् । बास हुन्छ, दलको कार्यालयमा । संयोग कस्तो भने, अनिशलाई प्रधानमन्त्रीसँगै नहिँडाइएका कारण उनी पनि त्यहीँ बस्छन् । उनीमाथि खास ठूलो अभियोग त केही छैन, ओली अध्यक्ष भएको पार्टीमा ओलीकै पिएर भएर ओलीकी छोरीलाई झुलाएकोबाहेक ।  दलको कार्यालयमा एउटा क्यान्टिन पनि छ । पहिला झापा–काठमाडौं सम्पर्क मञ्चका सदस्य ललित सुब्बाले चलाउँथे । अहिले सम्पर्क मञ्चमै रहेकी ओली थरकी महिलाले चलाउने गरेकी छन् ।

ओलीलाई नै क्यान्टिन दिनुपर्छ भनेर इन्द्र भण्डारीहरुले टुंगो लगाएका थिए । तर, इन्द्र भण्डारीहरु पनि ओलीको सचिवालयमा भूमिकाहीन छन् । उनी पनि दलकै कार्यालयतिर देखिन्छन् । अनिश त त्रिभुवन विश्वविद्यालयका बहालवाला उपप्राध्यापक हुन्, भक्तपुर क्याम्पसमा दरबन्दी भएका । इन्द्रको त त्यति पनि व्यवस्था छैन । अहिले केपी ओलीसँग पिए राजेश बज्राचार्य र प्रेस संयोजक चेतन अधिकारीबाहेक कोही हिँड्न पाउँदैनन् । राजेश कीर्तिपुरका इमान्दार युवक हुन् । चेतन अघिल्लो कार्यकालमा कान्तिपुरको जागिर छाडी केपीको टिममा झापाबाट आएका ।

टिप्पणीहरू