देउवाको चलाखी र एमालेमा हिसाबकिताब

देउवाको चलाखी र एमालेमा हिसाबकिताब

चर्को असन्तुष्टिका बीच मन्त्रालय भागबण्डाको सकस पन्छाएको सत्ता गठवन्धनमा राजनीतिक नियुक्तिलाई लिएर अर्को किचलो शुरु भएको छ । गठवन्धनको भावना र पूर्व सहमतिविपरित प्रधानमन्त्री शेरबहादुर देउवाले चलाखीपूर्ण ढंगले नियुक्तिहरूमा एकलौटी गरेको भन्दै सत्ता सहयात्री अन्य दल असन्तुष्ट बनेका हुन् ।

यसअघि प्रधानमन्त्री देउवामाथि मन्त्रालय भागबण्डामा पूर्वसहमति तोडेको आरोप लागेको थियो । सत्ता साझेदार चार वटै दलले समान हैसियतका साथ ६-६ मन्त्री लिने पूर्वसहमति विपरित काँग्रेसले ९ मन्त्रालयमा दावी नछोडेपछि असन्तुष्टिका बीच गठवन्धनका अन्य दल क्याबिनेट विस्तारमा सहमत भएका थिए ।

सत्ता साझेदार माओवादी,एकीकृत समाजवादी र जसपालाई राजनीतिक नियुक्तिहरूमा बढी हिस्सा दिने सहमति गरेर एक सीट न्यायालय र अर्को सीट सारा मुध्दा मामिलाको लिड गर्ने वकिललाई सहित दिनपर्ने भन्दै ९ वटै मन्त्रालय हात पार्न सफल हुनुभएका प्रधानमन्त्री देउवामाथि उक्त सहमतिमा पनि अडिन नसकेको आरोप लागेको छ ।

“एक सीट न्यायालय र अर्को सीट सारा मुध्दा मामिलाको लिड गर्ने वकिललाई सहित दिनपर्ने भन्दै ९ वटै मन्त्रालय हात पार्न सफल हुनुभएका प्रधानमन्त्री देउवामाथि उक्त सहमतिमा पनि अडिन नसकेको आरोप लागेको छ ।”

महाधिवेशनको मुखमा आफूलाई नेताहरुको व्यवस्थापन गर्न अप्ठेरो परेको भन्दै गठवन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले काँग्रेसलाई बढी मन्त्रालय दिन आग्रह गरेपछि पग्लिएका नेताहरु राजनीतिक नियुक्ति भने सहमतिअनुसार नै हुनुपर्ने अडान नछोड्ने मनस्थितिमा रहेको जानकार स्रोत बताउँछ । प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरुबीच यता र उता देखाएर अलमल गर्ने र अन्तिममा आफू निकटलाई नियुक्ति दिने गरेको स्रोतको दावी छ ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाका आफन्त भनिएका गजेन्द्र हमालको नियुक्ति र राजीनामालाई पनि गठबन्धनका अन्य दलले प्रधानमन्त्री देउवाको चलाखी भनेका छन् ।

३ दिनअगाडि कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बोलाएर विवाद आउँछ,मेरा जेठानलाई मन्त्री नबनाउनु भन्दाभन्दै मन्त्री बनाउनु र पर्सिपल्टै राजीनामा गराउनु जसरी पनि क्याबिनेटमा आफ्नो भाग बढाउने सुझबुझपूर्ण योजना भएको उक्त स्रोतको भनाइ छ ।

“३ दिनअगाडि कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बोलाएर विवाद आउँछ,मेरा जेठानलाई मन्त्री नबनाउनु भन्दाभन्दै मन्त्री बनाउनु र पर्सिपल्टै राजीनामा गराउनु जसरी पनि क्याबिनेटमा आफ्नो भाग बढाउने सुझबुझपूर्ण योजना भएको उक्त स्रोतको भनाइ छ । “

पाँच दलीय गठवन्धन भन्दा अर्ली इलेक्सनलाई देउवाले प्राथमिकतामा पारेकाले उहाँ गठवन्धनको भावनाअनुरुप अघि बढ्न नचाहेको एकथरीको विश्लेषण छ । पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा आउन अनिच्छुक देखिनुभएका देउवा दोस्रो विघटनमा पनि प्रधानमन्त्री बन्ने सुनिश्चितता नहुँदासम्म सडकमा ओर्लन चाहनुभएको थिएन ।

पछिल्लो समय देउवाको दूतका रुपमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीको निरन्तर बालकोट भेटलाई पनि गठवन्धनका अन्य दलले निको मानेका छैनन् ।

यता,सत्ता गठवन्धनमा अविश्वास र दरार पैदा गराएर देउवालाई अर्ली इलेक्सनमा सहमत गराउन प्रयासरत प्रतिपक्षी एमालेमा पनि नियमित चुनावमा जानुपर्ने मत बाक्लिन थालेको छ । पार्टी फुटको असरको लेखाजोखा गरिरहेको एमाले तत्काल चुनावमा जाँदा प्रतिकूल नतिजा आउने देखेपछि त्यस्तो मनस्थितिमा पुगेको बताइन्छ ।

पार्टी विभाजनले देशभर संगठन हल्लिएका बेला चुनावमा जाँदा नसोचेको परिणाम हात लाग्ने पूर्व महान्यायाधिवक्ता अग्नि खरेलसहित तल्ला तहबाट रिपोर्ट र धारणा आउन थालेपछि एमाले नेताहरुले अर्ली इलेक्सनको मोह त्यागिसकेको जानकार स्रोतको दावी छ ।

खासगरी पार्टी फुटले कमजोर बनेको प्रदेश २,काठमाण्डौ उपत्यका,कर्णाली र सुदूरपश्चिममा चुनावी नतिजा खराब आउने एमाले नेताहरुको अनुमान छ । मधेसमा त स्थिति उसै पनि खराब छदै थियो । नियमित चुनावसम्म धकेल्न सके समाजवादी र माओवादीका मान्छे तानेर सांगठानिक पकड बढाउने रणनीतिमा एमाले लागेको बताइन्छ ।

टिप्पणीहरू