बाढीमा फसेकाको उध्दार गर्न १८ घण्टापछि गृहमन्त्रीको निर्देशन

बाढीमा फसेकाको उध्दार गर्न १८ घण्टापछि गृहमन्त्रीको निर्देशन

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ भएर बग्ने महाकाली नदीको बाढीमा फसेका एकै परिवारका पाँच जनालाई उध्दार गर्न गृहमन्त्री बालकृष्ण खाँडबाट झण्डै १८ घण्टापछि निर्देशन दिइएपछि बल्ल प्रक्रिया शुरु भएको छ ।

लगातारको वर्षाले महाकाली नदीमा आएको बाढीका कारण हिजोदेखि खल्ल मसेट्टी क्षेत्रको बीचमा रहेको टापुमा फसेका पाँच जनालाई हेलिकप्टरबाट उध्दार गर्न गृहमन्त्री खाँणले केहीबेर अघि निर्देशन दिनु भएको हो ।

अरु कुनै विकल्प नभएपछि हेलिकोप्टरबाट उध्दार गर्न निर्देशन प्राप्त भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार लगातारको वर्षाले पानीको सतह बढेपछि उध्दारमा समस्या आएको छ ।

महाकाली नदीमा यो सिजनमा पछिल्लो आठ वर्ष यताकै ठूलो बाढी आएकाले ५० घर डुबानमा परेको पनि उहाँले बताउनुभयो । उहाँले सहायताका लागि प्रभावित क्षेत्रमा सुरक्षा टोली परिचालित गरिएको र प्रदेशका मुख्यमन्त्रीलगायत सबैजना त्यहाँ पुगेको उल्लेख गर्नुभयो ।

हालसम्म कुनै पनि मानवीय क्षति नभएको जनाउँदै जिल्ला प्रशासनले दोधारा चाँदनी नगरपालिका १० को भूभाग वर्षाका कारण अति प्रभावित भएको जानकारी दिएको छ ।

टिप्पणीहरू