नेपालमा न्याय मरेकै हो ?

नेपालमा न्याय मरेकै हो ?

नेपालका लागि नेपाली पार्टीले नेपालमा भइरहेका दुःखद् घटनाले सरकार र नागरिकबीचको सम्बन्धको दुःखद् अवस्थालाई चित्रण गरेको जनाएको छ । पार्टीले जयसिंह धामी घटना, नेपालगञ्जको घटना, मोतिपुर घटना र भीमबहादुर विक हत्यालगायतका दुःखद् घटनाले सरकार र नागरिकबीचको सम्बन्ध एवम् नागरिक नागरिकबीचको सामाजिक सम्बन्धको दुःखद् अवस्थालाई चित्रण गरेको ठहर गरेको छ ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा जयसिंह धामी निधनको तुइन प्रकरणमा सरकारले ठोस कदम चाल्न नसकेको र भारतीय पक्षलाई जिम्मेवार बनाउन नसक्नुले सरकार नागरिकको सुरक्षा गर्न नसक्ने र अन्तर्राष्ट्रिय कानूनका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्न असक्षम भएको प्रमाणित गरेको उल्लेख छ ।

यस्तै बाँकेको नेवाजी गाउँकी नकुन्नी धोबी र बाँकेकै परस्पुर गाउँकी निर्मला कुर्मी विगत १२ वर्षदेखि हराएको विषयमा अनुसन्धान नभएपछि न्याय माग्दै २० दिनसम्म हिँडेर काठमाडौं आएका स्थानीयलाई दमन गरेको घटनाले मुलुकमा न्याय मरेको समेत उक्त पार्टीले ठहर गरेको छ ।

बुटवलको मोतिपुर घटना नेपाली राजनीतिको एउटा घिनलाग्दो घटना रहेको जनाउँदै राजनीतिक पार्टीले निर्वाचनमा भोटका लागि सुकुम्बासीलाई विभिन्न किसिमका लोभ र प्रलोभन देखाई भोट बटुल्ने र भोट पाएपछि उनीहरुमाथि दमन गर्ने चरम राजनीतिक विकृति भएको उसले विश्लेषण गरेको छ ।

टिप्पणीहरू