​कसलाई रहेछ कुरेको

आइतबार संघीय संसदका सदस्यहरूले शपथ खाने कार्यक्रम थियो । दिउँसो ४ बजेका लागि कार्यक्रम राखिए पनि ३ नबज्दै रंगीविरंगी पोसाकमा भीड लाग्न थाल्यो । एमाले कोटामा समानुपातिक सांसद बनेका मोतीलाल दुगड सवा तीन बजे नै देखा परिसकेका थिए । साउदीका राजकुमारले जस्तो टाउकोमा फेटा झुन्ड्याएका केडिया संसद्को मुख्यद्वारअगाडि धेरैबेर बसिरहे । कहिले मिडियालाई प्रतिक्रिया दिँदै, कहिले अन्य सांसदसँग कुरा गर्दै समय बिताए । खासमा उनले प्रधानमन्त्री केपी ओलीलाई कुरेका रहेछन् । ओली गाडीबाट ओर्लिएलगत्तै मिडियाका अगाडि हात मिलाउँदै सँगै संसद् भवन छिरे । ४ बजे हुने भनिएको शपथ साढे ४ बजे शुरु भयो । संविधान मान्दिनँ भन्दै हिँड्ने महन्थ ठाकुरले सबैलाई शपथ दिलाए । 

शपथ शुरु हुनु केही मिनेटअघि मात्र ओली बैठक कक्षमा आइपुगे । जनाउ घण्टी बजेपछि कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भए । देउवालाई ओलीले आफू बसेको कुर्सीबाट उभिएर हात मिलाई स्वागत गरे । शपथ शुरु हुनुपूर्व मन्त्रीहरू बस्ने सरकारी पक्षको अघिल्लो सिटमा बसेका माओवादी नेता मातृका यादवले ओलीलाई सिट देखाए । प्रकाशमान सिंहलाई दोब्बरभन्दा बढी मतले हराएका देउवाको मुहार चम्किएको थियो । 

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव सभापति शेरबहादुर देउवा पछाडिको कुर्सीमा बसेकी थिइन् । उनी उठेको मौका छोपी रौतहटबाट निर्वाचित सांसद आफ्ताव आलमले कुर्सी ओगटे । सीतादेवी पछाडिको सिटमा गएर बसिन् । आलमले सीतादेवीलाई विस्थापित गरेको कांग्रेसका केही सांसदले मन नपराए पनि उठाउन सकेनन् । प्रतिपक्षी बेञ्चको अघिल्लो सिट कांग्रेस र संघीय समाजवादी फोरमले ओगटेपछि राजपाका नेता एकछिन सभामुखको कार्यकक्षअगाडि वेलमा उभिइरहे । सभामुखको दायाँतर्फ माओवादी बसेको थियो, त्यसपछि एमालेका लागि व्यवस्था थियो । विपक्षी रो को पहिलो लाइनमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह तथा फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ बसेका थिए । श्रेष्ठ अलि हौसिएका देखिन्थे ।

एमाले र कांग्रेसका अधिकांश सांसद नेपाली मौलिक पोसाक दौरा–सुरुवालमा थिए । माओवादीका भने कोही टाईसुट त कोही मधेसी पहिरनमा थिए । शपथ सकिएपछि सांसदका लागि चियापान कार्यक्रमको व्यवस्था थियो । सांसदले महँगो समोसा र लड्डु खाए । सचिवालयका अधिकारीलाई कमिसन बुझाएर टेण्डर पारेको क्याटरिङले चम्चा, काँटा नदिएपछि सांसदहरूले हातै नधोई दनादन दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठककक्ष मर्मतको नाममा सचिवालयले तीन करोड सकेको छ । संविधानसभा बैठक चल्दा रातो कार्पेट रहेको प्रतिनिधिसभा बैठक कक्षमा नीलो कार्पेट राखिएको छ । माइक र कुर्सी पुरानै रहे पनि तीन करोड खर्च हुँदा अनियमितताको गन्ध आएको गाइँगुइँ छ ।  सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको छ भने मंगलबारदेखि सदन सुचारु भएको छ । २६ गते सभामुखको निर्वाचनपछि २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनेछन् । 

टिप्पणीहरू