माओवादी केन्द्रका थप निर्णय

माओवादी केन्द्रका थप निर्णय

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले टोल,वडा, पालिका र प्रदेशस्तरीय सम्मेलनको पूर्वनिर्धारित मिति फेरेको हो ।

नयाँ कार्यतालिकाअनुसार सदस्यता नवीकरणको म्याद थप गरेर कात्तिक २५ गतेसम्म पुर्याइएको छ । यसअघि असोज मसान्तभित्र सदस्यता नवीकरण गरिसक्ने भनिएकोमा दशैँ, तिहारलगायतका चाडपर्व परेकाले कात्तिक २५ गतेसम्म म्याद थप गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल प्रशान्तले जानकारी दिनुभयो ।

त्यस्तै,टोल भेला कात्तिक २७ गते, वडा सम्मेलन मङ्सिर ४ गते, पालिका सम्मेलन मङ्सिर ११ गते र प्रदेशको सम्मेलन मङ्सिर २५ गर्ने तालिका पारित भएको छ । समन्वय कमिटीको हैसियतमा रहेका जिल्ला र निर्वाचन क्षेत्रस्तरीय कमिटीको भने सम्मेलन नगर्ने ढकालले बताउनुभयो ।

त्यस्तै,माओवादी केन्द्रले विभिन्न केन्द्रीय निकाय र विभाग पनि गठन गरेको छ । जसअनुसार ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मन्च गठन भएको छ । मन्चको अध्यक्षमा नन्दकुमार प्रसाई तोकिनुभएको छ । त्यसैगरी, बैठकले १४९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिको नेतृत्व भने टुंगो लाग्न बाँकी रहेको ढकालले बताउनुभयो ।

माओवादी केन्द्रले तीनवटा केन्द्रीय आयोग पनि गठन गरेको छ । लेखा आयोगको प्रमुखमा पेशलकुमार खतिवडा र अनुशासन आयोगको प्रमुखमा टंक राई रहनुभएको छ। माओवादीले यसघि नै निर्वाचन आयोग गठन गरिसकेको छ । जसको प्रमुखमा विष्णुपुकार श्रेष्ठलाई तोकिएको छ ।

आजको बैठकले पार्टी एकतामा सहभागी विभिन्न ४५ वटा समूहलाई समायोजनको प्रक्रियामा लैजाने निर्णय पनि गरेको छ । कार्यालय सचिव ढकालका अनुसार ०७४ सालदेखि अहिलेसम्म विभिन्न मितिमा पार्टी एकतामा आएकालाई आवश्यकताअनुरुप विभिन्न कमिटीमा समायोजन भएको हो ।

कतिपयलाई केन्द्रीय निकाय र बिभागमा समायोजन गर्ने र बाँकीलाई प्रदेशमा पठाउने निर्णय भएको ढकालले बताउनुभयो । प्रदेशले सम्बन्धित जिल्ला र तत तत कमिटीमा समायोजनको निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

माओवादीले यसअघि नै समायोजनका लागि स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलको नेतृत्वमा वर्षमान पुन र कार्यालय सचिव ढकाल सदस्य रहेको कार्यदल बनाएको थियो । कार्यदलले लामो अध्ययनपछि प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन आजको स्थायी कमिटी बैठकले पारित गरेको ढकालले बताउनुभयो ।

टिप्पणीहरू