परराष्ट्रमा दुई दर्जन बढी अधिकृत हेरफेर,मन्त्री र सचिवका पिए पनि यताउता

परराष्ट्रमा दुई दर्जन बढी अधिकृत हेरफेर,मन्त्री र सचिवका पिए पनि यताउता

परराष्ट्र मन्त्रालयमा नारायण खड्का मन्त्री बनेलगत्तै आन्तरिक हेरफेर व्यापक भएको छ । यसबीच दुई दर्जनभन्दा बढी अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ । जसअनुसार परराष्ट्र सचिव भरत पौड्यालकी निजी सहायक (पीए) शाखा अधिकृत आस्था सुब्बालाई युएन शाखामा लगिएको छ ।

पहिलेका परराष्ट्र मन्त्री रघुवीर महासेठका पिए महेशमणि त्रिपाठीलाई भने सचिवको सचिवालयमा पुर्याइएको छ । कृष्णकुमार सुवेदी (कृसु) क्षेत्रीलाई मन्त्री खड्काको सचिवालयमा लगिएको छ । उनलाई न्युयोर्कबाट फर्केपछि केही समय पासपोर्ट सेक्सनमा राखिएको थियो । क्षेत्री चिफ अफ प्रोटोकल तथा यसअघि बेलायतका लागि राजदूत दुबसु (दुर्गाबहादुर सुवेदी) क्षेत्रीका सहोदर भाइ हुन् ।

अर्का अधिकृत मनहरि दंगाललाई युरोप–अमेरिका शाखाबाट चिफ अफ प्रोटोकल शाखामा लगिएको छ । सोही शाखाका अनिल लम्साललाई भने युरोप–अमेरिका शाखामा लगेर साटफेर गरिएको छ ।

आन्तरिक प्रशासनका विनोद मुखियालाई पनि सरुवा गरिएको बताइएको छ । तर उनलाई कहाँ लगियो केही खुलाइएको छैन । अस्ट्रेलियास्थित दूतावास चलाइसकेका पासपोर्ट शाखाका उपसचिव राजेन्द्र पाण्डेलाई नीति तथा योजनामा लगिएको छ । उनको सेवा अवधि आगामी पुस २८ गते सकिँदैछ ।

रास्ट्रपति कार्यालयमा कार्यरत उपसचिव विशाल भट्टराईको ठाउँमा उपसचिव मुदिता बज्राचार्यलाई लगिएको छ । भट्टराई आबुधाबी पोष्टिङको लागि त्यता जाँदैछन् । अहिले तत्कालको लागि भट्टराईलाई कहिँ कतै एड्जस्ट मात्रै गरिएको स्रोतको दाबी छ ।

आन्तरिक सरुवामा दुई वर्षे प्रावधान लागू गरिएको भनिएको छ । तर त्यो सबैमा कार्यान्वयन नगरिएको कर्मचारीहरुले नै बताएका छन् । स्रोत भन्छ, ‘दुई वर्षभन्दा बढी समय एउटै सेक्सनमा बसेका कतिपयलाई चलाइएको छैन । तर,एकथरिलाई छ महिना पनि नपुगी सरुवा गरिएको छ ।’

यसैबीच परराष्ट्र मन्त्रालयले नेपालका लागि केही केही राजदूतले राष्ट्रपति विद्या भण्डारीसमक्ष प्रस्तुत गर्ने ओहोेदाको प्रमाणपत्रको तयारी थालेको छ ।

नेपालका लागि ब्राजिलका आवासीय राजदूत नयाँ नियुक्त भएकाले उनको ओहोदाको प्रमाणपत्र यही ५ गते शुक्रबार पेश गर्ने तयारी गरिएको हो । त्यहि क्रममा केही गैरआवासीय राजदूतले पनि ओहोदाको प्रमाणपत्र बुझाउँदै छन् । जसमा इटाली र माल्टाको गैरआवासीय राजदूत रहेको बताइन्छ ।

टिप्पणीहरू