​कति छन् कति प्रमाण

अस्पतालको औषधिदेखि उपकरणसम्म खरिदमा डरलाग्दो घोटाला हुने गरेको तथ्य जनआस्थाले फेला पारेको छ । मन्त्रालयका सचिव, अस्पतालका अध्यक्ष (भिसी)देखि लेखा शाखाका कर्मचारीलाई मोटो कमिसन खुवाएर विशाल पण्डितहरूले औषधि र उपकरणको टेण्डर हत्याउँदै आएका छन् । यसमा कर्मचारीको डरलाग्दो कनेक्सन भेटिएको छ । चितवनको भरतपुर अस्पतालमा औषधि र उपकरण खरिदको एकलौटी ठेक्का पण्डितहरूले हात पार्दै आएका हुन् । त्यहाँ कानुन अधिकृत गोकर्ण सापकोटा छन् । उनी खरिद, पदपूर्ति, कर्मचारी कार्यमूल्यांकन समितिदेखि अन्तर्वार्ता समितिमा समेत बसेर गलत निर्णय गरी तर मार्दै आएका व्यक्ति हुन् ।

भगौडा माओवादीको रूपमा चिनिने गोकर्णविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ । उनी बिनाप्रतिस्पर्धा त्यहाँ प्रवेश गरेका हुन् । उनको नियुक्ति हुँदा नै उमेर हद नाघिसकेको थियो । कानुन अधिकृत भए पनि बिचौलियाको काम गर्दै आएको आरोप कर्मचारी लगाउँछन् । टेण्डर कसलाई दिने, कमिसन कति लिनेसम्मको चलखेल उनैले गर्ने गरेको एक कर्मचारीले बताए । उनैले हो भरतपुरको मेसिन खरिदसम्बन्धी जिम्मा विशाल पण्डितको हस्पिटेकलाई सुम्पिएको । जहाँ केही समयअघि एमआरआई मेसिन बजार मूल्यभन्दा ५ करोड बढी भुक्तानी तिरेर भिœयाइएको थियो । त्यस्तै अस्पतालका लागि आवश्यक नपर्ने एएमसी र सिटी सिमुलेटर मेसिन खरिद गर्दा झण्डै बजारमूल्यभन्दा दोब्बर भुक्तानी गरिएको अस्पताल स्रोतले जनाएको छ । गोकर्णले एकैपटक तलब र काज बुझ्ने गरेको जनआस्थाले प्रमाण फेला पारेको छ । त्यहाँ चिकित्सा आयोगले दोषी ठहर गरी हालै कारबाहीका लागि सिफारिस गरेका डा. प्रकाशराज न्यौपानेले अध्यक्ष पद पड्काइरहेका छन् भने डा. चीनबहादुर पुनले राजीनामा दिएका छैनन् ।

डरलाग्दो सेटिङ के भने त्यहाँको रेडियो थेरापी विभागमा लामो समयदेखि लिक्वान र ब्राकी थेरापी मेसिन छैन । मेसिन अभावमा क्यान्सर उपचारका लागि पुगेका बिरामीलाई डा. अञ्जनीकुमार झा, डा. सुरेश श्रेष्ठ र त्यहाँकै अध्यक्ष डा. विजयचन्द्र आचार्यको लगानी रहेको नेपाल क्यान्सर अस्पताल काठमाडौंमा रिफर गरिँदै आएको छ । सरकारी अस्पतालबाट तलब खाने र त्यहाँ आएका बिरामी आफ्नो लगानी रहेको अस्पतालमा रिफर गर्ने डा. विजयचन्द्रहरूले आफू कारबाहीबाट बच्न भरतपुरस्थित घर प्रचण्डका भाइ नारायण दाहाललाई भाडामा दिएर आफू भने अस्पतालको क्वार्टरमा बस्दै आएका छन् । ६० करोड लागतमा निर्माणाधीन दुई सय बेडको भवनको म्याद ०७२ साल जेठभित्र सक्नुपर्नेमा म्याद थप्दै एक अर्ब रुपैयाँ सकाइसकिएको छ । जसको ठेक्का प्रेम आशिष कम्पनीले पाएको हो । ठेकेदार नारायणगढ निवासी प्रेम मल्ल हुन् । पूर्वअध्यक्ष चीनबहादुरका छोरालाई एमबीबीएस पढ्न छात्रवृत्ति मिलाइदिएसँगै त्यहाँ विशाल पण्डितले ठेक्का पाउँदै आएका हुन् । अस्पतालमा यो हदसम्म लुट मच्चिएपछि कर्मचारीले उच्चस्तरीय आयोग गठन गरी कारबाही थाल्न माग गरेका छन् । 

टिप्पणीहरू